एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलियाको बार्षीक साधारण सभामा सहमति जुट्न नसकेपछि अनलाइन निर्वाचनको तयारी भए पनि अन्ततः उम्मेदवारी फिर्ता भएपछि सुजित कुमार सिंहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
गत साता सम्पन्न वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरेको थियो। निर्वाचन समितिले अध्यक्ष पदमा सहमतिबाट वा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने दुवै विकल्प खुला राख्दै प्रक्रिया अघि बढाएको थियो।
निर्वाचन समितिको पहलमा अध्यक्ष पदका आकांक्षी सुजित सिंह र नितेश गुप्ताबीच प्रारम्भिक चरणमा सहमतिको वातावरण बनेको थियो। सो सहमतिअनुसार अध्यक्षमा सुजित सिंह र उपाध्यक्षमा नितेश गुप्ता रहने तथा बाँकी पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरिएको थियो।
तर साधारण सभाकै दिन उक्त सहमतिप्रति असन्तुष्टि देखिएपछि नितेश गुप्ता ले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी कायम राख्ने अडान लिए। उनका समर्थकहरूले पनि अध्यक्ष पदमा उनको दाबीलाई समर्थन गरेपछि सोही दिन नयाँ कार्यसमिति घोषणा हुन सकेन। त्यसपछि निर्वाचन समितिले अनलाइन माध्यमबाट मतदान गरी पुनः निर्वाचनमा जाने निर्णय गरेको थियो।
यद्यपि निर्वाचन समितिले तोकेको समयावधि समाप्त हुनुअघि नै नितेश गुप्ताले आफ्नो उमेदवारी फिर्ता लिए। उम्मेदवारी फिर्ता भएसँगै सुजित सिंहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिले जनाएको छ।
नयाँ कार्यसमिति
अध्यक्ष: सुजित कुमार सिंह
उपाध्यक्ष: विकास कुमार झा
महासचिव: अन्जु शाह
संयोजक: एमडी सैफुल्लाह
कोषाध्यक्ष: रञ्जित कुमार दास
सह–कोषाध्यक्ष: विनय कुमार यादव
जनसम्पर्क अधिकृत: मनिष कुमार साह
कार्यसमिति सदस्यहरू
राजेश यादव, रितेश कुमार महतो, सुजित कुमार साह, विशाल कुमार पण्डित, सुरज कुमार साह, नितिश मेहता, अजित कुशवाहा, विक्की कुशवाहा, प्रमिश महतो र नरेश कुमार साह रहेका छन्।
अघिल्लो कार्यकालका अध्यक्ष तथा समाजसेवी–व्यवसायी रञ्जित साहाले संस्थाले समुदायको हित, संस्कृति संरक्षण र पहिचानका सवालमा खेलेको भूमिकाको प्रशंसा गर्दै सक्रिय, अनुभवी र समुदायबाट स्वीकृत व्यक्तित्वहरूलाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा गर्व लागेको बताएका छन्।
नव–निर्वाचित अध्यक्ष सुजित सिंहले प्रवासमा करिब डेढ दशकको सामाजिक अनुभव रहेको उल्लेख गर्दै आगामी दुई वर्षे कार्यकालमा एन्टालाई प्रभावकारी, समावेशी र सशक्त संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उपाध्यक्ष विकास झासहित अन्य पदाधिकारीहरूले तराई समुदायसँगै समग्र नेपाली समुदायबीच सहकार्य विस्तार गर्ने लक्ष्य रहेको बताएका छन्।
एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया अष्ट्रेलियाको उदाहरणीय संस्थाका रूपमा परिचित छ। सामाजिक सेवा, सांस्कृतिक प्रवर्द्धन र समुदायका अधिकारका सवालमा सक्रिय रहँदै आएको यस संस्थाको गतिविधि अस्ट्रेलियामात्र नभई नेपालमा समेत चासोका साथ हेरिने गरेको सदस्यहरूले बताएका छन्।



