काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् ।
भ्रष्ट र दलालहरूले काँग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताएका हुन् । दलाल, बिचौलियाहरूले आफू अनुकूल काम गराउन वर्तमान सरकार बनाइएको अध्यक्ष प्रचण्डको जिकिर थियो ।
‘‘सत्तारुढ काँग्रेस–एमाले गठबन्धन नेताहरुले बनाएको होइन । मलाई कण्ठ थाहा छ(त्यो बिचौलिया, दलालहरूले उनीहरूको घरमा, उनीहरूको होटलमा लगेर उनीहरूको इच्छा अनुसार बनेको सरकार भयो यो । त्यसकारण यो सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैन । यो सरकारले बेथिति र अराजकताका विरुद्ध केही पनि गर्न सक्दैन ।’’ दाहालले भने ।
बुधबार काठमाडौँमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार भ्रष्टहरूले बनाएकाले मुलुकमा राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कुलमान घिसिङहरूलाई सरकारले हटाउने काम गरिरहेको दाबी गरे ।
आफूले भ्रष्टाचारको विरुद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको पनि दोहोर्याए ।
‘‘राम्रो काम गर्न खोज्यो हटाऊ भन्छ सरकार । राम्रो काम गर्न खोज्यो कुलमान हटाउने । कान्छा राम हटाउने । अलि राम्रो इन्दिरा राना हटाऊ । हेर्नुस् त छानीछानी जनजाति हटाउने । छानीछानी राम्रो काम गर्ने मान्छे हटाउने,’ दाहालले भने, ‘‘अनि आफूलाई फाइदा हुने गरी बिचौलिया र दलालले भनेजस्ता मान्छे भर्ती गर्ने । यही त अहिले भइराखेको छ । त्यसो भएको हुनाले म तपार्ईहरूलाई के भन्न चाहन्छु भने यो परिस्थिति हामीले बदल्नु पर्नेछ । अरूले होइन ।’’
अध्यक्ष दाहालले मुलुकलाई सही बाटोमा अघि बढाउन प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको समेत बताए ।



