क्यानबेरा (अष्ट्रेलिया) । अष्ट्रेलिया सरकारकाले आप्रवासीविरुद्ध यही अगस्ट ३१ मा हुने “March for Australia” नामक प्रदर्शन र र्यालीको कडा विरोध गरेको छ ।
प्रधानमन्त्री एन्थोनी अल्बनेजेको नेतृत्वमा सांसदहरूले संयुक्त वक्तव्य जारी गर्दै अष्ट्रेलियामा बसोबास गर्ने जो–कोहीलाई सुरक्षित र सम्मानित महसुस गर्ने अधिकार रहेको र कुनै पनि जातीय घृणा फैलाउने गतिविधिलाई असौय सहन नहुने बताएका छन् ।
गृह मामिला मन्त्री टोनी बर्कले समाजलाई विभाजित गर्ने वा एकतालाई कमजोर पार्ने गतिविधिलाई अष्ट्रेलियामा स्थान नहुने स्पष्ट गर्दै “सरकार आधुनिक, समावेशी र बहुसांस्कृतिक अष्ट्रेलियाको पक्षमा छ” भनेका छन् ।
त्यस्तै मन्त्री डा. एन अलीले प्रदर्शनलाई “गैर–अष्ट्रेलियाली” भन्दै बहुसांस्कृतिकतालाई अष्ट्रेलियाको पहिचानको आधार भएको उल्लेख गरिन् ।
विरोध प्रदर्शनमा सहभागी आयोजकमध्ये केहीले white nationalist विचारधारा, remigration (विदेशीलाई देश फर्काउने माग) र प्रो–नाजी सामग्री प्रचार गरेको तथ्य सार्वजनिक भएपछि यसलाई झन् विवादास्पद बनाएको छ । आप्रवासी समुदाय, विशेषगरी भारतीय मूलका विद्यार्थीहरूले सुरक्षा चिन्ता व्यक्त गरेका छन् भने विश्वविद्यालयहरूले विद्यार्थीहरूको सुरक्षाका लागि अतिरिक्त सहयोग र उपायहरू अपनाएका छन् ।
सरकारले आप्रवासी र स्थानीय सबै नागरिकलाई एकता, शान्ति र आपसी सम्मान कायम गर्न आग्रह गर्दै “March for Australia” प्रदर्शनलाई अस्वीकार गर्न आह्वान गरेको छ ।
यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको थियो ।



