सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अष्ट्रेलियामा आप्रवासीविरुद्ध हुने ‘मार्च फर अष्ट्रेलिया,अष्ट्रेलिया फर्स्ट’ नामक प्रदर्शन र र्यालीको विरोध गरेको छ ।
आप्रवासन विरोधी भावना र विभाजनलाई प्रवर्द्धन गर्ने यी र्यालीहरू अष्ट्रेलियालाई परिभाषित गर्ने बहुसांस्कृतिकता, समावेशीता र सामाजिक सद्भावको मूल्यमान्यता विपरीत रहेको निष्कर्ष एनआरएनए अष्ट्रेलियाको छ । एनआरएनएले यस्ता खाले प्रदर्शन र र्यालीले आप्रवासीवरोधी भावना बढाउने भन्दै यसको कडा शब्दमा विरोध गरेका छ ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियका प्रमुख शहरहरुमा यही अगस्ट ३१ तारिक (भदौ १५ गते)मा हुने आप्रवासीविरुद्ध हुने प्रदर्शनको आपत्ति जनाएका हुन् ।
उनले यस्ता प्रदर्शनहरूले अष्ट्रेलियाको बहुसांस्कृतिकता, समावेशिता र सामाजिक सद्भावका मूल्यविपरीत काम गर्ने उल्लेख गरेका छन् ।
‘‘एनआरएन अष्ट्रेलिया यहाँको समाजमा रहेका विविधताहरुको उत्सव मनाउने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दछ । आप्रवासी र प्रवासी समुदायले देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्बृद्ध बनाउँदै आएका छन् भन्ने कुरालाई स्मरण गराउन चाहन्छौं । सामाजिक चुनौतीहरुको दोष आप्रवासीहरुलाई लगाउने कुनै पनि प्रयासलाई हामी अस्वीकार गर्दछौं र अस्ट्रेलियालीहरुलाई जातीय विभेद, वैमनस्यता र विभाजनका विरद्ध उभिन आह्वान गर्दछौं,’’ अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैबीच एनआरएन अष्ट्रेलियाले यहाँको राजनीतिक वर्ग, समूदायका अगुवाहरुलाई एकता प्रवर्द्धन गर्न र घृणामा आधारित आन्दोलनहरुलाई अस्वीकार गर्न समेत आग्रह गरेको छ ।
‘‘हामी सामाजिक चुनौतीहरूको लागि आप्रवासीहरूलाई बलिको बोका बनाउने कुनै पनि प्रयासलाई दृढतापूर्वक अस्वीकार गर्छौं र सबै अस्ट्रेलियालीहरूलाई जातिवाद, विदेशीहरूप्रति घृणा र विभाजनको विरुद्धमा उभिन आग्रह गर्दछौं । हामी सरकारी अधिकारीहरू, समुदायका नेताहरू र नागरिकहरूलाई एकता प्रवर्द्धन गर्न र घृणामा आधारित आन्दोलनहरूलाई अस्वीकार गर्न आह्वान गर्दछौं । एनआरएनए अष्ट्रेलियाले अष्ट्रेलियाका सबै बहुसांस्कृतिक समुदायहरूको समावेशीकरण, सम्मान र कल्याणका लागि काम गरिरहनेछ ।’’ विज्ञप्तिमा भनिएको छ ।
यही अगस्ट ३१ मा हुने ‘मार्च फर अष्ट्रेलिया’ नामक आप्रवासन विरोधी विरोध प्रदर्शनहरू प्रमुख अष्ट्रेलियाली शहरहरूमा हुने तयारी छ । आप्रवासीहरुबीच भने यसले भयको वातावरण निर्माण गरिदिएको छ ।
अध्यक्ष पोखरेलले, “आप्रवासीहरूको योगदानले अष्ट्रेलियाको विविधतालाई अझ समृद्ध बनाएको छ । यस्ता विभाजनकारी गतिविधिले समाजमा समस्या सिर्जना गर्छन्,” भने ।
मुख्यतः अष्ट्रेलिया बहुसांस्कृतिक समाज भएको देश हो । उनले यस्ता गतिविधिहरू आप्रवासीविरुद्ध द्वेषभावना र विभाजनलाई प्रोत्साहित गर्ने बताए ।




