Sunday, August 30, 2026
Zenith Migration Education
Sunday, August 30, 2026

स्टिल–एलुमिनियम आयातमा अमेरिकाको कडाइ, नयाँ वस्तुमा उच्च शुल्क

Zenith Migration Education

वासिङ्टन । अमेरिकी वाणिज्य विभागले मङ्गलबार जानकारी दिएको अनुसार, एलुमिनियम वा स्टिल समावेश भएका थप ४०७ प्रकारका वस्तुहरूमा ५० प्रतिशत आयाशुल्क लागू गरिएको छ ।

नयाँ निर्णयअनुसार, स्टिल र एलुमिनियम आयातमा लाग्ने ‘सेक्सन २३२’ अन्तर्गतको कर विस्तार गरिएको छ, जसले मोबाइल, क्रेन, बुलडोजर, रेलको डब्बा, फर्निचर, कम्प्रेसर, पम्प लगायत सयौं उत्पादनहरू समेट्नेछ ।

निर्णय अपेक्षाकृत छिटो लागू भएकाले भन्सार एजेन्ट तथा आयातकर्ताहरू तयारी गर्न नपाई प्रभावित भएका छन् ।

अमेरिकी वाणिज्य विभागका उद्योग तथा सुरक्षा उपसचिव जेफ्री केसलरले भने, “आजको कदमले स्टिल र एलुमिनियममा लाग्ने शुल्कको कार्यक्षेत्रलाई विस्तार गर्दै सम्भावित दुरुपयोग रोक्ने तथा अमेरिकी उद्योगहरूलाई मजबुत बनाउने दिशामा टेवा पुर्‍याउनेछ ।”

सरकारले प्रभावित वस्तुहरूको विवरण भन्सार कोडमार्फत मात्रै उपलब्ध गराएको हुँदा सर्वसाधारणका लागि यकिनसँग बुझ्न केही कठिनाइ हुन सक्ने जनाइएको छ ।

त्यस्तै, जुलाई महिनाको अन्त्यमा राष्ट्रपति ट्रम्पले तामा (कपर) आधारित वस्तुहरूमा पनि ५० प्रतिशत आयाशुल्क लागु गर्ने घोषणा गर्नुभएको थियो, जुन अगस्ट १ देखि लागू भइसकेको छ ।

विशेषज्ञहरूका अनुसार, यस्ता क्षेत्र–विशेष शुल्कहरूले निर्माण, अटोमोबाइल तथा इलेक्ट्रोनिक्सजस्ता उद्योगहरूमा लागत वृद्धि गर्ने सम्भावना रहेको छ । सीएनएनको विश्लेषण अनुसार, शुल्क वृद्धिले आपूर्ति श्रृंखला नै प्रभावित पार्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु