नयाँदिल्ली । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान एक व्यक्तिले आक्रमण गर्ने प्रयास गरेका छन् । घटना मुख्यमन्त्री गुप्ताको निवासमा सार्वजनिक सुनुवाइका क्रममा भएको हो ।
दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाका अनुसार, एक व्यक्तिले कागजात देखाउने बहानामा मुख्यमन्त्रीसमक्ष पुगेर हात समातेर तान्ने प्रयास गरेका थिए । त्यस क्रममा धक्का–मुक्की हुँदा मुख्यमन्त्रीको टाउको टेबुलको कुनामा ठोक्किएर सामान्य चोट लागेको र उनलाई तत्कालै अस्पताल पुर्याइएको बताइएको छ । आक्रमण प्रयास गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
घटनाप्रति विभिन्न राजनीतिक दलहरूले प्रतिक्रिया जनाएका छन् । कांग्रेस सांसद एम. टागोरले मुख्यमन्त्रीको सुरक्षा सुनिश्चित गर्नु दिल्ली प्रहरीले आफ्नो जिम्मेवारी भएको भन्दै घटनाप्रति खेद प्रकट गरे ।
शिव सेना (यूबीटी) की सांसद प्रियंका चतुर्वेदीले यसलाई अत्यन्तै लज्जास्पद र दुःखद घटना भनेकी छन् । त्यस्तै, दिल्ली कांग्रेस अध्यक्ष देवेन्द्र यादवले “आजको घटनाले दिल्लीमा कोही पनि सुरक्षित छैन भन्ने तथ्य उजागर भएको” टिप्पणी गरेका छन् ।



