चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये तीन जनाको जापानी इन्सेफ्लाईटिसबाट मृत्यु भएको छ । साउन २३ देखि भदौ ३ गते सम्मको नमुना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण देखिएको थियो । ती मध्ये ३ जनाको मृत्यु भएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका वडा नम्बर १२ की ७० वर्षीय वृद्धा र भरतपुर महानगरपालिका वडा नम्बर १२ की ८१ वर्षीया वृद्धा रहेका छन् ।
उनीहरूको विगत ११ दिनमा आएको नतिजा हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका ३ जना सङ्क्रमित मध्ये एक जनाको मृत्यु भएको थियो । उनले भने, “जापानी इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ ।”
कालिका नगरपालिकामा एउटै वडामा दुई जनालाई सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकाको तीन वटा वडामा, राप्ती नगरपालिकाको दुई वटा वडामा, खैरहनी नगरपालिकाको एउटा वडामा र माडी नगरपालिकाको एउटा वडामा एक/एक जनामा यो रोगको सङ्क्रमण देखिएको हो । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिरिनै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ ।
यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धान खेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । उनले भने, “यस रोगको लक्षण कम मात्रामा देखिने गर्दछ । तर मृत्युदर ३० प्रतिशत सम्म हुने गरेको पाइन्छ ।”
जिल्लामा यस रोगबाट मानिसको मृत्यु भए पछि द्रुत प्रतिक्रिया टोलीको बैठक बसेर सबै पालिकालाई यस रोग प्रति चनाखो हुन निर्देशन दिइएको छ । उनका अनुसार पालिकाहरूले रोगको निगरानी गर्ने, प्रतिकार्य कामहरू गर्ने र सक्रिय रूपमा जनचेतना फैलाउन भनिएको छ ।
यस रोगको सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, वान्ता हुने, शरीर काम्ने, घाँटी अररो हुने, बेहोस हुने लक्षण देखा पर्ने उनले बताए । यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ । यो रोग लागेको कुनै लक्षण देखिना साथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार प्रक्रिया सुरु गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ ।
जापनिज इन्सेफ्लाइटिसबाट बच्नका लागि पशुपक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्ने, लामखुट्टे भगाउने धूप, मलहमको प्रयोग गर्ने, घर बाहिर नसुत्ने जस्ता कामहरू गर्नुपर्ने उनले बताए ।
साँझ बिहानीपख खेतबारीमा वा बाहिर सकेसम्म जानु हुँदैन, जानु परेमा पूरै बाहुला भएका कपडा लगाएर मात्र जाने, ढल खुल्ला नराख्ने जसले गर्दा लामखुट्टेको वृद्धि हुन्छ, सधैँ कीटनाशक औषधीयुक्त झुल टाँगेर मात्र सुत्ने गर्नुपर्छ । बालबालिकालाई यो रोग विरुद्धको खोप लगाउने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने जस्ता काम गर्नुपर्ने हुन्छ ।



