Monday, August 31, 2026
Zenith Migration Education
Monday, August 31, 2026

वासिङ्टन वार्तामा जेलेन्स्कीले सुरक्षा सुनिश्चिततामा जोड दिने

Zenith Migration Education

वासिङ्टन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली नेताहरूसहित अमेरिकी राजदूतसँगको भेटमा सोमबार हुने आफ्नो अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तामा पश्चिमा सुरक्षा प्रत्याभूतिका विषयमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

“हामीसँग सुरक्षा सुनिश्चितताको योजनाबारेमा बोल्ने समय हुनेछ”, युक्रेनका लागि ट्रम्पका विशेष दूत किथ केलोगसँगको वार्तामा जेलेन्स्कीले भने, “यो वास्तवमै सबैभन्दा महत्त्वपूर्ण हो ।”

राष्ट्रपति जेलेन्स्कीले भने, “जब युरोपको एउटा देशको लागि शान्तिको चर्चा गरिन्छ, त्यसको अर्थ सम्पूर्ण युरोपका लागि शान्ति हो ।” “हामी युद्ध अन्त्य गर्न र भरपर्दो सुरक्षा सुनिश्चित गर्न अधिकतम प्रयासका साथ काम गर्न तयार छौं,” उनले भने ।

उनले रुसविरुद्ध दृढता अपनाउन आग्रह गर्दै ट्रम्पको भाषा पनि प्रयोग गरे, “रूसलाई केवल शक्तिको माध्यमबाट शान्तिमा जबरजस्ती गर्न सकिन्छ, र राष्ट्रपति ट्रम्पसँग त्यो शक्ति छ। शान्ति कायम गर्न हामीले सबै कुरा सही गर्नुपर्छ ।”

जेलेन्स्की पछि वासिङ्टनस्थित युक्रेनी दूतावासमा युरोपेली नेताहरूसँग भेला भएका थिए । उनीहरू युक्रेनका लागि समर्थन जनाउन वासिङ्टन पुगेका हुन् र उनीहरूको ट्रम्पसँग संयुक्त रूपमा भेट्न कार्यक्रम रहेको छ ।

शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले युक्रेनलाई मस्कोको आक्रमण अन्त्य गर्न युक्रेनलाई केही भूभाग छोड्न दबाब दिइरहेको बताइएको छ ।

ट्रम्पले युक्रेनलाई नेटोमा सामेल हुन अनुमति दिन अस्वीकार गरेका छन् र पुटिनको अडानसँग आफूलाई मिलाएका छन् । यद्यपि अमेरिकी अधिकारीहरू र पश्चिमी नेताहरूले युक्रेनलाई सुरक्षाको सुनिश्चतता गर्न अन्य तरिकाहरू खोजिरहेको बताएका छन् ।

पुटिनले ट्रम्पसँगको संक्षिप्त पत्रकार सम्मेलनमा भने, “स्वाभाविक रूपमा, युक्रेनको सुरक्षा पनि सुनिश्चित गरिनुपर्दछ ।” ट्रम्पको भनाइपछि के अनुमान गरिएको छ भने उनी युक्रेनका केहि चासोबारे छलफलका लागि तयार हुनेछन्, तर नेटो होइन । नेटोमा सहभागी गराउने कुराले युक्रेनलाई रूसको थप आक्रमणको निशाना बनाउने बुझाइ ट्रम्पको छ ।

फेब्रुअरी २८ मा ह्वाइट हाउसमा भएको बैठकमा ‘अनपेक्षित’ तनाव भएको थियो । ट्रम्पका सहयोगीहरूले उक्त बैठकमा जेलेन्स्कीलाई औपचारिक पोशाक (सूट) नलगाएको भनी आलोचना गरेका थिए । जेलेन्स्कीले केलोगसँगको भेटमा आफ्नो ट्रेडमार्क टी–शटसहितको सैन्य पोशाक नै लगाएका थिए ।

ब्रसेल्समा आइतबार जेलेन्स्कीले सैन्य पोशाकको परिमार्जित संस्करण लगाएका थिए, जसमा टाई बिना सुट जस्तो ज्याकेट समावेश थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु