अमेरिका । अमेरिकी विदेश विभागले ६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द गरेको छ । विभागले जनाएअनुसार अमेरिकी कानुन उल्लङ्घन गरेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको हो ।
मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो मुद्दा मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी र ‘आतङ्कवादलाई समर्थन’ सँग सम्बन्धित थिए ।
यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको एक हिस्सा हो, जसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूविरुद्ध पनि कडा कारबाही भइरहेको बीबीसीले उल्लेख गरेको छ। यद्यपि, परराष्ट्र मन्त्रालयले ‘आतङ्कवादलाई समर्थन’ भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन ।
बीबीसीका अनुसार ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध प्रदर्शन गर्ने केही विद्यार्थीहरूमाथि पनि कारबाही गरेको छ, उनीहरूलाई यहूदी विरोधी व्यवहार गरेको आरोप लगाएको छ ।
विदेश मन्त्रालयले भनेको छ हजार भिसामध्ये चार हजारलाई कानुन उल्लङ्घन गरेको आरोपमा रद्द गरिएको छ । यसबाहेक ‘आईएनए ३ बी अन्तर्गत आतङ्कवादसम्बन्धी मुद्दाहरूमा दुई सयदेखि तीन सय भिसा रद्द गरिएको छ ।



