Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

सिड्नीमा माकार्थर क्षेत्र नेपाली समाजद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । माकार्थर क्षेत्र नेपाली समाजले नजिकिँदै गरेको नेपाली महिलाको महान् पर्व तीजका अवसरमा विशेष कार्यक्रमको आयोजना गरी उल्लासपूर्वक सम्पन्न गरेको छ ।

यस वर्षको तीज आउन करिब एक हप्तामात्र बाँकी रहँदा, समाजले सिड्नीको लिभरपुलमा आयोजना गरेको कार्यक्रममा नेपाली कला, संस्कृति र परम्परालाई जोगाउँदै अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा उजागर गर्ने उद्देश्य लिएको थियो ।

कार्यक्रमको सञ्चालन सर्मिला बास्ताकोटीले गरेकी थिइन् भने समाजकी उपाध्यक्ष सोनी तुलाधर पराजुलीले उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्य दिएकी थिइन् । त्यस्तै, एनआरएनए एनएसडब्लु राज्य संयोजक उषा बारिया पोखरेलले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै सहभागी सबैलाई तीजको शुभकामना व्यक्त गरेकी थिइन् ।

तीनतारे भोज, डीजे, फोटोग्राफी, नृत्य प्रस्तुति तथा नेपालबाट आएका चर्चित कलाकार श्रीकृष्ण मल्ल र लक्ष्मी मल्लका आकर्षक प्रस्तुतिहरूले कार्यक्रमलाई झनै भव्य बनाएका थिए । कार्यक्रममा करिब तीन सयभन्दा बढी नेपाली समुदायका सदस्यहरू, बालबालिकासहितको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

समाजकी अध्यक्ष उषा खड्काले तीज केवल मनोरञ्जन नभई संस्कृतिको संरक्षण र सामाजिक उत्तरदायित्वसँग जोडिएको पर्व भएको उल्लेख गरिन् । उनका अनुसार, कार्यक्रमबाट सङ्कलित रकम नेपालमा शिक्षाबाट वञ्चित बालबालिकाको शिक्षा तथा वृद्धवृद्धाहरूकै लागि हरिहर आश्रम र लक्ष्मी प्रतिष्ठानमा सहयोग गर्ने कार्यमा खर्च गरिनेछ। “समाजले अष्ट्रेलियामै पनि सामाजिक कार्यहरू गर्दै आएको छ,” उनले थपिन् ।

कार्यक्रमका प्रमुख अतिथि लिभरपुल नगरपालिकाका मेयर नेडको प्रतिनिधित्व गर्दै काउन्सिलर फिओना म्याकनट उपस्थित थिइन् । त्यस्तै, सङ्घीय सांसद डेविड मोनक्रिफ, क्याम्पबेलटाउन नगर प्रमुख डार्सी लाउन्ड, काउन्सिलर मसुद चौधरी, अश रहमान, डा. अभा सूरीलगायत विशेष अतिथिहरूको उपस्थिति थियो ।

एनआरएनए नारी निकुञ्जकी राष्ट्रिय संयोजक सङ्गीता चापागाईं, नारी निकुञ्ज अष्ट्रेलियाकी पूर्व अध्यक्ष तथा समाज कार्यसमिति सदस्य सिर्जना संग्रौला, नारी निकुञ्जकी एनएसडब्लु संयोजक सबला बस्नेतलगायतको पनि सहभागिता उल्लेखनीय रह्यो ।

कार्यक्रम लिभरपुल सिटी काउन्सिलको सामुदायिक अनुदानमार्फत सम्पन्न भएको थियो । शीर्ष प्रायोजक “AUS Dream Built” रहेको कार्यक्रममा List and Sell Real Estate, Infinity Care, Fewa Home Loan, Century 21st Minto, Kalani Homes लगायत सुनौलो प्रायोजक थिए । साथै, विभिन्न व्यवसायिक र सामुदायिक संस्थाहरूले रजत प्रायोजकको भूमिका निर्वाह गरेका थिए ।

लोकगायक द्रयले पोखरेली शैलीमा प्रस्तुत गरेको “जम्मा कम्मर भाँची नाचिन्छ छम्मछम्म” गीतमा सहभागीहरू झुमेका थिए ।

अन्त्यमा, समाजले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु