काठमाडौँ । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको सङ्ख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले विषाक्त मदिरा सेवनका कारण आइतबारसम्म १२ नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । साथै करिब ३० जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।
गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण २६० जनाभन्दा बढी बिरामी परेका थिए ।
यस घटनामा हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएको कुवेती स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, अवैध मदिरा उत्पाद र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरिएको कुवेतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै पक्राउ पर्नेमा नेपाली नागरिक पनि रहेका छन् ।
अनुसन्धानका क्रममा सुरक्षा निकायले साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेको जनाइएको छ । ति नेपालीको बयानका आधारमा अन्य नेपालीलाई समेत पक्राउ गरिएको थियो ।
यसका साथै भारतीय तथा एक जना बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको छ । पक्राउ परेका मुख्य अभियुक्तहरूमाथि हत्याको अभियोग लाग्न सक्ने कुवेती सञ्चारमाध्यमले जनाएका छन् ।
अभियानका क्रममा सुरक्षा निकायले आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखाना पनि नियन्त्रणमा लिएको छ ।
उक्त घटनापछि सुरक्षा निकायले देशभर नै अवैध बसोबासका मुद्दाहरूमा संलग्न र अवैध मदिरा बनाउने कम्पनीहरूमाथि छापा मारेको हो । आवासीय र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा सबै ६ वटा गभर्नरेटहरूमा २५८ व्यक्तिहरूलाई पक्राउ गरिएको थियो ।
त्यस्तै, विषाक्त मदिरा सेवनपछि अस्पताल भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ ।
कुवेती सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै कुवेती सञ्चारमाध्यमहरू मदिरा सेवनपछि अस्पतालमा उपचार गरिरहेकाहरूलाई डिस्चार्ज भएपछि पक्राउ गरिनेछ । आवश्यक अनुसन्धानपछि उनीहरूलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।
कुवेतमा मदिराको उत्पादन, सेवन तथा बेचबिखनमा प्रतिबन्ध छ । मदिरा सेवन प्रमाणित भएमा देश निकाला हुने व्यवस्था रहेको छ ।



