Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

युक्रेनमा तत्काल युद्धविरामको सम्भावना कम : राष्ट्रपति ट्रम्प

Zenith Migration Education

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिबार रुस र युक्रेनबीच तत्काल युद्धविराम हुने सम्भावनालाई अस्वीकार गरेका छन् ।

ह्वाइट हाउस र क्रेमलिनका नेताहरूले अलास्कामा तीन घण्टा लामो वार्तामा सहमतिका क्षेत्रहरू औँल्याएका थिए तर द्वन्द्व अन्त्यका लागि तत्काल युद्धविरामको घोषणा गर्ने प्रयासमा कुनै प्रगति हुन सकेन ।

युक्रेन द्वन्द्वका कारण सैनिक तथा गैर–सैनिक गरी दशौँ हजार व्यक्तिको मृत्यु भएको छ र युक्रेनमा यसका कारण भौतिक संरचनामा समेत व्यापक विनाश भएको छ ।

भेटवार्तापछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा जारी एक सन्देशमा लेखेका छन्, “अलास्कामा एक महान् र धेरै सफल दिन !”

“रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता निकै राम्रो भयो । युक्रेनका राष्ट्रपति जेलेन्स्की र नेटोका अति सम्मानित महासचिवलगायत विभिन्न युरोपेली नेताहरूसँग अबेर राति भएको फोन वार्ताल पनि सकारात्मक काम गरेको छ,” सन्देशमा भनिएको छ ।

उनले भने, “भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो तरिका सबैले निर्धारण गरेका छन् । यसको अर्थ सीधै शान्ति सम्झौतामा जानु हो । यसले युद्धको अन्त्य गर्नेछ ।”

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी नेतासँग भेटवार्ताका लागि वासिङ्टन जाने बताएका छन् ।

“यदि सबै कुरा सोचेजस्तो भएमा हामी राष्ट्रपति पुटिनसँग बैठक गर्नेछौं,” ट्रम्पले भने । उनले यो त्रिपक्षीय बैठक हुनेछ कि छैन भन्नेबारे केही बताए ।

“सम्भवतः लाखौं मानिसको जीवन बचाइनेछ,” उनले भने ।

जेलेन्स्कीले यसअघि सामाजिक सञ्जालमा ट्रम्पको प्रस्तावको समर्थन गरेका थिए । उनले लेखेका छन्, “हामी युक्रेन, अमेरिका र रुसबीच त्रिपक्षीय बैठकका लागि राष्ट्रपति ट्रम्पको प्रस्तावको समर्थन गर्दछौँ । युक्रेनले प्रमुख मुद्दाहरू उच्च पदस्थ नेतास्तरीय बैठकमा छलफल गर्न सकिन्छ । यसका लागि त्रिपक्षीय ढाँचा उपयुक्त छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु