सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज अगस्ट ९ देखि १० गतेसम्म न्यूजील्यान्डको औपचारिक दुई दिने भ्रमणमा रहने भएका छन् । यस भ्रमणको मुख्य एजेण्डा वार्षिक रुपमा आयोजना हुने अष्ट्रेलिया–न्यूजील्यान्ड नेतृत्वस्तरीय बैठकमा सहभागी हुनु हो ।
बैठकमा दुवै देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन तथा व्यापार र लगानी प्रवाहमा सुधार ल्याउने विषयमा गहन छलफल हुने छ । न्यूजील्यान्डका लागि अष्ट्रेलिया एक प्रमुख आर्थिक बजार र निर्यात गन्तव्य भएकाले, यी विषयहरूलाई प्राथमिकतामा राखिएको छ ।
सुरक्षा सहयोगमा पनि दुई छिमेकी देशबीच दीर्घकालीन साझेदारी रहेको छ । यस बैठकले सुरक्षा सम्बन्धलाई थप मजबुत बनाउने, समुद्री सुरक्षा, साइबर सुरक्षा तथा क्षेत्रीय स्थिरता सुनिश्चित गर्ने विषयहरूमा सहकार्य बढाउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री अल्बानिजको यो भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रुपमा हेरिएको छ । यसले अष्ट्रेलिया–न्यूजील्यान्डबीचको साझा हित र क्षेत्रीय शान्ति तथा समृद्धिमा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ ।



