Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

Zenith Migration Education

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा हिमालयलाई बचाउन सकिने बताए ।

“हिमालका आवाजहरु पग्लने बरफमुनि मरेर नजाओस् । हिमालको रक्षाका लागि सँगै काम गर्न, नेतृत्व गर्न र साझेदारी गर्न नेपाल तयार छ । हाम्रा कदमले जलवायु न्यायमा काम गर्न विश्व समुदायलाई प्रेरित गर्न सकोस्”, प्रधानमन्त्री ओलीले भने, “हिमालय अर्बौं मानिसहरूको जीवन र जीविकोपार्जनको स्रोत मात्र होइन, यो हाम्रो पहिचान, राष्ट्रिय गौरव, हाम्रो वर्तमान र भविष्य हो । यसका साथै हिमालय र महासागरहरूलाई एकअर्कामा रिचार्ज गर्ने माध्यम पनि हो ।”

प्रधानमन्त्री ओलीले पृथ्वीको कुलिङ सेन्टरका रुपमा रहेका हिमाललाई लोप हुन नदिने प्रयास नेपालको चाहनाले मात्र नभई कार्बन उत्सर्जन गर्ने मुलुकहरुलेसमेत गम्भीरता प्रदर्शन गरेमा मात्रै पूरा हुने स्पष्ट गरे । उनले हिमनदी पग्लने समस्या नेपालजस्ता देशका लागि मात्र वातावरणीय चिन्ताको विषय नभई यो हाम्रो विकास, सुरक्षा र अस्तित्वको मुटुमा प्रहार गर्ने निरन्तर खतरा भएकाले यसको रक्षा अत्यावश्यक भएको बताए ।

“नेपाल हिमनदी ताल फुट्ने बाढीको विनाशको सिकार भइसकेको छ । हिमनदी ताल फुटेर नेपाल र चीनको नाका रसुवागढीमा विनाशकारी बाढीका कारण मानवीय र भौतिक क्षति भयो । यस्ता जलवायुजन्य विपत्तिहरू बारम्बार भइरहेका छन् । भविष्यमा पनि यस्ता खतरा उत्पन्न हुन सक्छन्”, प्रधानमन्त्री ओलीले भने, “यसका कारण हाम्रो कृषि, जलविद्युत्, पर्यटन र जैविक विविधतामा जोखिम बढ्दो छ । यी खतराहरू हाम्रो राष्ट्रिय सीमाभन्दा बाहिर फैलिएका छन् । हाम्रो भविष्यलाई जोखिममा पार्न सक्छन् । त्यसैले यसमा विश्व साझेदारी आवश्यक छ, नेपाल त्यो साझेदारी बढाउन तप्पर छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु