Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता विस्तार गर्ने सहमति

Zenith Migration Education

क्वालालम्पुर । थाइल्याण्ड र कम्बोडियाबीच गत महिना सीमा क्षेत्रमा पाँच दिनसम्म चलेको घातक युद्धपछि भएको अस्थायी युद्धविराम सम्झौतालाई लम्ब्याउन बिहीबार सहमति भएको छ ।

सीमावर्ती मन्दिरलाई लिएर लामो समयदेखि चलेको विवाद हिंसामा परिणत भएको थियो । साउन १३ गते मङ्गलबार अस्थायी शान्ति सम्झौता गर्नुअघि पाँच दिनसम्म चलेको युद्धमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ मध्यस्थकर्ताको एक टोलीको आग्रहपछि आसियान अध्यक्ष मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविरामको मध्यस्थता गरेका थिए ।

उक्त सम्झौतामा अस्थायी युद्धविरामको लागि सहमति भएको थियो । प्रतिद्वन्द्वी क्षेत्रीय कमान्डरहरूको तीन दिनको वार्ता र छलफलपछि बैठकमा दुबै देशका रक्षा अधिकारीहरूले बिहीबार एक संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका एक विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “दुवै पक्ष सबै प्रकारका हतियारसहित युद्धविराम गर्न सहमत भएका छन्, जसमा नागरिक र गैर–सैनिक वस्तुमाथि आक्रमण नगर्ने सबै अवस्थामा र क्षेत्रमा दुवै पक्षको सैन्य उद्देश्य रहने छ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “यो सम्झौता कुनै पनि हालतमा उल्लङ्घन हुनुहुँदैन ।”

थाइल्याण्ड र कम्बोडिया दुवैले युद्धविरामको पहिलो दिनमा एकअर्कालाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका थिए । उनीहरूको साझा ८०० किलोमिटर (५०० माइल) सीमामा भएका झडपहरू चाँडै नै कम भएका थिए ।

थाइल्याण्डका उपरक्षामन्त्री नाट्टाफोन नार्कफानित र कम्बोडियाका रक्षामन्त्री टि सेइहाद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा सीमामा सैनिकको आवागमन र गस्तीमा रोक लगाउने सहमति भएको उल्लेख छ ।

“हामी रक्तपात रोक्न विस्तृत युद्धविरामको व्यवस्थाका लागि यहाँ छौँ र दुवै पक्षका सैनिक र सर्वसाधारणले भोग्नुपरेको पीडालाई रोक्न चाहन्छौँ,” पत्रकार सम्मेलनमा टि सेइहाले भने ।

उनले भने, “यी कदमहरू जीवन रक्षाका उपायहरु हुन् जसले हाम्रा दुई देशबीच विश्वास, भरोसा र सामान्य स्थिति बहालीका लागि आधार तयार पार्ने छन् ।”

वक्तव्यमा एक महिनाभित्र अर्को बैठक बस्ने र दुवै पक्ष तनाव कम गर्न गलत सूचना ९फेक न्यूज० सम्प्रेषण नगर्न पनि सहमत भएको बताइएको छ ।

“आजको हाम्रो छलफलले ठोस परिणाम हासिल गर्न दुवै पक्षले सहयोग र इमान्दारिता देखाउनु आवश्यक छ,” थाई उपरक्षामन्त्री नाथाफोनले भने ।

उच्च तनाव
पर्यवेक्षकका रुपमा सहभागी हुँदै यो सम्झौता दिगो शान्तिका लागि एक कदम मात्र भएको मलेसियाका लागि अमेरिकी राजदूत एडगार्ड कागनले बिहीबारको बैठकपछि भने ।

उनले भने, “हामी इमानदार हुनुपर्छ र भन्नुपर्छ कि त्यहाँ अझै पनि धेरै उच्च स्तरको अविश्वास र तनाव छ ।

कागनले भने, “हामीलाई लाग्छ, दुवै पक्षले उच्च स्तरमा दृढ प्रतिबद्धता देखाउनु महत्त्वपूर्ण हुनेछ र सीमामा रहेका सैनिक र प्रहरीहरूलाई स्पष्ट रूपमा यो सन्देश दिइएको छ ।”

सन् १९०७ मा कम्बोडियाका फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण यी मन्दिरहरूमा दुवै राष्ट्रहरूले दाबी गर्दै आएका छन् ।

गत महिना भएको झडप यस क्षेत्रमा एक दशकयताकै सबैभन्दा घातक थियो र तीन लाखभन्दा बढी मानिस सीमाका दुवैतर्फका लडाकू इलाका छाड्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु