सप्तरी । जिल्लामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मदिा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा राजगड गाउँपालिका–२ निवासी लालु यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले मदिरा भण्डार गरिएको ठाउँमा राति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको बताए ।
सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको उनको भनाइ छ ।
उनीहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाका लागि प्रहरीले सात राउन्ड गोली चलाएको चतुर्वेदी बताउँछन् । जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए ।
अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्लाको राजगड गाउँपालिका–२ स्थित नेपाल–भारतको सीमामा सर्च अप्रेसन गर्दा तस्कर र प्रहरीबिच भीडन्त भएको थियो । उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ ।



