सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको सिड्नीमा जेप्टो स्काईद्वारा निर्मित लिपि–माला एपको औपचारिक रुपमा सार्वजनिक भएको छ । आइतबार सिड्नीको म्यारिल्यान्डमा आयोजित कार्यक्रममा आइटी विज्ञ किरण खलानको अग्रसरतामा निर्माण गरिएको लिपीमाला सार्वजनिक गरिएको हो ।
लिपीमाला सार्वजनिक कार्यक्रममा न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेपाली समूदायकी अगुवा ईन्द्र वनलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा नेपाल बाहिर रहेका बालबालिका लागि लिपिमाला आवश्यक भएको बताएका छन् । यसले नेपाली भाषा सिकाइमा महत्तपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । बालबालिकाको सर्वाङ्गीण विकासको मूल आधार बन्ने र यसको भूमिका अरिहार्य हुने वाणिज्यदूत शर्माको भनाइ छ ।

मुख्यत नेपाली बालबालिकाहरुलाई सानै उमेरदेखि लागेको मोबाइल हेर्ने लत अर्थात् स्क्रिन टाईमलाई नै सदुपयोग गर्दै भाषा सिकाउने प्रयास गरिएको छ ।
नेपालका विभिन्न जानकारीमूलक सामग्रीका साथै भिडियो र एनिमेसनमार्फत बालबालिकाहरुले नेपाली भाषाको अध्ययन गर्न सक्नेछन् ।
लिपीमालाका संस्थापक किरण अधिकारीले बालबालिकालाई खेलमार्फत् पनि भाषाप्रति झुकाव बढाउने प्रयास गरिने जानकारी दिए । उनले निश्चित शुल्क तिरेपछि यो एपलाई डाउनलोड गर्न सकिने बताए । यसपछि बालबालिकाहरुको उमेर समूह अनुसार उनीहरुलाई सामग्री उपलब्ध गराइने छ ।

अधिकारीले लिपीमाला एकपटक परियोजना नभएर निरन्तर यसमा परिमार्जन र सुधार गर्दै समयको अनुकूलतामा विदेशमा बस्ने नेपालीको हरेक परिवारको आवश्यताका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले यसका लागि नेपालमा एउटा टिम नै काम गरिरहेको र उनीहरु सबैको प्रयासले नै यो उपलब्धी हासिल गर्न सकिएको भन्दै धन्यवाद दिएका थिए ।
कार्यक्रमको सञ्चालन पत्रकार प्रकिश हुमागाईंले गरेका थिए भने कार्यक्रममा विभिन्न संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।







