सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष उद्धबप्रसाद चिमोरिया भेटघाटमा व्यस्त रहेका छन् । आइतबार अध्यक्ष चिमोरियाले सिड्नीस्थित नेपाली समुदायका धार्मिक तथा सामाजिक अगुवाहरूसँग भेटर्वार्ता गरेका हुन् ।
सो क्रममा अध्यक्ष चिमोरियाले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा कार्यरत नेपाल सरकारका महावाणिज्यदूत सञ्जीव शर्मासँग विशेष भेटर्वार्ता गरेका छन् । सो अवसरमा उनले नेपालका ख्रीष्टियन संस्थाहरुका गतिविधि, समुदायले भोगिरहेका चुनौतीहरू र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।
उक्त भेटघाट कार्यक्रमको संयोजन विकास बिम्बुले गरेका थिए । यसै सन्दर्भमा चिमोरियाले प्रवासमा रहेका मण्डलीहरूमा सेवा गरिरहेका अगुवा पास्टरहरूसँग समेत भेटर्वार्ता गरेका थियो । सो क्रममा उनले नेपाल र प्रवासबीचको सहकार्य, आत्मिक आवश्यकताहरू र मण्डलीको भूमिकाका विषयमा व्यापक छलफल गरिरहेका छन् ।
उनको भ्रमण क्रम अझै केही दिनसम्म जारी रहने छ । अध्यक्ष चिमोरिया जुन २३ मा अष्ट्रेलिया आएका हुन् ।



