सिड्नी (अष्ट्रेलिया) । नेपाली युवाहरूको एकता र सहयोगको भावनाबाट प्रेरित “वेस्ट साइड ब्रदरहुड” समूहले ओबर्न पार्कमा बारबिक्यु कार्यक्रम गर्दै सामाजिक सद्भाव र सहकार्यको सन्देश फैलाएको छ । सन् २०१८ मा स्थापित यो समूहमा ५० जना सक्रिय सदस्यसहित सामाजिक संस्थाको रूपमा रूपान्तरणको तयारीमा छ ।
यस समूहका संस्थापक तथा अध्यक्ष हुन्, कास्की जिल्लाका दाङसिङका रिदम भट्टचन । उनी सन् २०१७ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए । नयाँ देशमा काम पाउन, मार्गदर्शनको अभाव तथा एक्लोपनसँग जुध्दै उनले भोगेका ती कठिन दिनहरू नै आजको सामाजिक कार्यमा उनको प्रेरणा बनेका छन् ।
“मान्छेले कि पढेर जान्दछ कि परेर जान्दछ” भन्ने भनाइ रिदमको जीवनमा देखिएको छ । उनी भन्छन्, “मैले जस्तो पीडा अरूले भोग्न नपरोस् भनेर नै यो समूहको सुरुआत गरिएको हो ।”

वेस्ट साइड ब्रदरहुडले आपतमा परेकाहरूलाई आर्थिक सहयोग, रोजगारी खोजीमा सहायता र मानसिक स्वास्थ्य लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । अब यस समूहलाई संस्थागत बनाएर अष्ट्रेलियाका अन्य राज्यहरूसम्म विस्तार गर्ने योजनामा अध्यक्ष रिदम रहेका छन् ।
सिड्नीको नेपाली समुदायमा बाक्लो बसोबास रहेको ओबर्न क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका रिदमलाई साथीहरू “एक्सन हिरो” भन्छन् । तर उनको वास्तविक ‘हिरोइज्म’ परोपकारी मनोवृत्तिमा प्रकट हुन्छ । जीवनको संघर्षबाट उठेका उनी आज धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेका छन् ।




