सिड्नी, (ग्रान्भिल) । नेपाली कला र संस्कृतिको प्रवर्धन गर्दै सिड्नीको ग्रान्भिलस्थित कम्बरल्याण्ड काउन्सिल हलमा ‘नृत्य कला सेन्टर’ सञ्चालनमा आएको छ । अष्ट्रेलियामा जन्मेका वा हुर्किरहेका नेपाली बालबालिका माझ मौलिक पहिचानको भावना जगाउने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो ।
‘नृत्य कला सेन्टर’ की संस्थापक रिना आचार्य खत्रीले नेपाली भाषा, संस्कृति र जीवनशैली पदेशमा लोप हुनबाट जोगाउन यो सेन्टरको स्थापना गरेको बताइन् ।

उनले भनिन्, “हाम्रा नानी–बाबुहरू नेपाली भाषा, संस्कृति र जीवनशैलीबाट टाढिँदै गएका छन् । त्यसैले नृत्यजस्ता रचनात्मक अभ्यासमार्फत उनीहरूलाई आफ्नो पहिचानप्रति गर्व गर्न सिकाउन हामी अघि बढेका हौँ ।”
केन्द्रमा नेपाली लोक, मारुनी, ट्रडिशनल, टपिकल नृत्यसँगै हिप–हप शैलीको पनि संयोजन गरिएको छ, जसले परम्परा र आधुनिकताको समायोजन गर्ने प्रयास गरेको छ ।
सेन्टरमा चारदेखि नौ वर्षसम्मका बालबालिकालाई प्रत्येक हप्ता साँझ ४ः३० देखि ५ः३० बजेसम्म र नौ देखि १५ वर्षसम्मका लागि ५ः३० देखि ६ः३० बजेसम्म नृत्य प्रशिक्षण दिइन्छ ।

प्रशिक्षण टिममा सिड्नीका चर्चित कोरियोग्राफर विजय जंग थापा पनि सहभागी छन् । थापाको दीर्घ अनुभव र खत्रीको सांस्कृतिक दृष्टिकोणको संयोजनले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजक पक्षको विश्वास छ ।
विभिन्न देशका संस्कृति घुलमिलिएको सहर सिड्नीमा नेपाली बालबालिकालाई आफ्नो मूल संस्कारसँग जोडेर राख्नु चुनौतीपूर्ण कार्य हो । तर खत्री जस्ता सांस्कृतिक अभियन्ताहरूको सक्रियताले नेपाली समुदायमा सांस्कृतिक पुनर्जागरणतर्फ एक सार्थक पहल बनेको छ ।
उनका अनुसार, भाषा, भेषभूषा, नृत्यजस्ता विधामार्फत बालबालिकामा संस्कार भर्न सकिन्छ । यो केवल डान्स सेन्टर होइन, एउटा सांस्कृतिक अभियान हो ।




