सिन्धुली । सिन्धुलीको गोलञ्जोर–६ बाट बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । उनीहरुको मोबाइल ‘ट्रयाकिङ’ गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ । प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरेको छ ।
बेपत्ताहरुको नामावली यसप्रकार छ :
१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३) वर्ष २३ की कोमल माया हायु (बुहारी)
४) र्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजता हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७) वर्ष १२ की सान्ता हायु (छोरी)
८) वर्ष २९ को राजु हायु (छोरा)
९) वर्ष २४ को हिमाल हायु (छोरा)
१०) वर्ष १६ को लाल बहादुर हायु (छोरा)
११) वर्ष १४ को बेग बहादुर हायु ( छोरा)
१२) वर्ष ११ को लक्की हायु (छोरा)
१३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) वर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) वर्ष १ को अर्जुन हायु (नाती)
१६) वर्ष ४ की रियासा हायु (नातिनी)
यद्यपी, १९ वर्षीया छोरी सुजता हायु भने प्रहरीको सम्पर्कमा आएकी छन् । उनी घरको माइली छोरी हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बेपत्ता भएका १६ परिवारको माइली छोरी ज्वाइँ प्रहरीको सम्पर्कमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले उर्मिला हायूको काठमाडौँमा बस्ने माइली छोरी सुजता हायू र ज्वाइँ आयुष श्रेष्ठ सम्पर्कमा आएको जानकारी दिए ।
प्रहरीले हराएको सूचीमा सुजताको नाम उल्लेख भए पनि केही महिना अघिदेखि काठमाडौँमा बस्दै आएको उनीहरुले बताएका छन् । स्थानीयले सुजताको नाम पनि बेपत्तामा जोडे पनि गाउँको घरमाउनी नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरी प्रमुख सुवेदीका अनुसार सुजताले पनि परिवारसँग सम्पर्क हुन नसकेको र प्रहरीलाई खोजिदिन अनुरोध गरेकी छन् ।
गत शुक्रबारदेखि छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १५ जनाको परिवारै सम्पर्कविहीन भएको र अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको सिन्धुलीका प्रमुख जिल्लाअधिकारी दिनेश सागर भुसालले जानकारी दिए।



