सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्थ (एनएसडब्लु) राज्य समितिका नवनिर्वाचित कोषाध्यक्ष अनन्त गुरुङले हरेक हिसाब खुला र जनउत्तरदायी हुनुपर्ने बताएका छन् ।
एनआरएनए अष्ट्रेलियाको २०२५–०२७ कार्याकालका लागि गत शनिबार सम्पन्न भएको निर्वाचनबाट निर्वाचित एनएसडब्लु राज्य समितिका कोषाध्यक्ष गुरुङले सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
टिम सन्तोष कुँवरका तर्फबाट एनएसडब्लु राज्य समितिको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका गुरुङले एक हजार ९९ मत प्राप्त गरेका थिए ।
उनले निर्वाचनका बेला मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्ने बताउँदै एनआरएनए एनएसडब्लु कोषलाई एक पारदर्शी, विश्वसनीय र समुदायदक्ष संरचनामा रुपान्तरण गर्ने बताएका छन् ।
“मेरो उद्देश्य केवल आर्थिक प्रशासन गर्नु होइन, आर्थिक जवाफदेहिता र समुदायप्रतिको विश्वसनीयता पुनस्र्थापित गर्नु हो ।’’ उनले भने ।
युवापुस्ताका एक सक्षम प्रतिनिधिका रुपमा रहेका गुरुङले मतदातासँग गरेका हरेक प्रतिबद्धता इमान्दारिता पूर्वक पूरा गर्ने बताएका छन् । साथै उनले निर्वाचनका बेला आफ्नो अमूल्य मत दिएर विजयी गराइदिनुहुने सम्पूर्ण मतदाता तथा समर्थकहरूलाई धन्यवाद ! दिएका छन् ।



