सिड्नी (अष्ट्रेलिया) । जब नेतृत्व, लगनशीलता र सेवाभाव एउटै व्यक्तित्वमा मिसिन्छन्, त्यस्तो पात्र समाजमा ‘रियल नायिका’को रूपमा चिनिन्छ । अष्ट्रेलियामा नेपाली समुदायको पहिचान, नारी सशक्तिकरणको आवाज र समर्पित सेवाको प्रतीक बनिसकेकी छन्, रिज्जु अधिकारी ।
पेशागत जीवन, पारिवारिक जिम्मेवारी र सामाजिक सक्रियताबीच सन्तुलन मिलाउँदै अघि बढेकी रिज्जु अधिकारी हालै सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनमा नारी निकुञ्ज राष्ट्रिय संयोजक पदमा निर्वाचित भएकी छन् । जुलाई २६ मा सम्पन्न भएको उक्त निर्वाचनमा उनले अष्ट्रेलियाका विभिन्न राज्यबाट उल्लेखनीय समर्थन बटुल्दै नयाँ नेतृत्वको अवसर पाएकी हुन् ।
“यो मेरो मात्र होइन, सिङ्गो समुदायको जित हो,” विजयी भावमा उनले भनिन्, “मलाई दिएको माया, विश्वास र समर्थनलाई म अब जिम्मेवारी र प्रतिवद्धतामा रूपान्तरण गर्ने छु ।”
उनको कार्यदिशा स्पष्ट छ, सबै राज्यका नारी संयोजिकासँग सहकार्य गर्दै नारी हक अधिकार, क्षमता अभिवृद्धि, स्वास्थ्य, आत्मनिर्भरता र नेतृत्व विकासका क्षेत्रमा ठोस पहल गर्ने ।
उनको यो जीतसँगै अष्ट्रेलियाको नेपाली समुदायमा नयाँ आशा र उत्साहको सञ्चार भएको छ । सौन्दर्य, शालीनता र तेजस्वी अभिव्यक्तिको संयोजन भएकी रिज्जु नारी शक्तिको आत्मविश्वासी प्रतिनिधि हुन् । प्रखर वाणी, सकारात्मक सोच र सबैलाई जोड्ने नेतृत्व क्षमता उनको विशेषता हो ।
उनले टिम सन्तोष कुँवरबाट उम्मेदवारी दिएकी थिइन्, जसले अहिलेको कार्यकालमा अध्यक्ष पदमा विजयी हुँदै नेतृत्वको बागडोर सम्हाल्ने जीम्मवारी पाएका छन् ।
रिज्जुको उदय नेपाली महिलाहरूका लागि मात्र नभएर सम्पूर्ण प्रवासी समुदायको प्रेरणाको स्रोत बनेको छ । उनले नव नेतृत्व कुँवर टिमसँग मिलेर काम गर्ने र चुनावमा अघि सारेको एजेण्डा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दैै सबै मतदाता तथा समर्थकहरूलाई धन्यवाद ! दिइन् ।



