अष्ट्रेलिया (सिड्नी) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरुको चुनावी अभियान पनि तीव्र बन्दै गइरहेको छ ।
निर्वाचन मिति नजिएसँगै एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष एवम् डार्विनमा सामाजिक अभियान्ता समेत रहेका नयाँ कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार सञ्जीव ढकाल (गोर्खाली)ले आफ्नो चुनावी प्रसारप्रसारलाई तीव्र पारेका छन् ।
आगामी २०२५–०२७ कार्यकालका लागि यही जुलाई २६ मा एनआरएनए निर्वाचन हुँदैछ ।

न्यु साउथ वेल्स राज्यको सिड्नीमा चुनावी प्रचारप्रसार र समर्थन जुटाउनका लागि शनिबार गोर्खाली आइपुगेका छन् । सिड्नीमा चुनावी प्रचारप्रसारका क्रममा बचन न्यूजसँग कुरा गर्दै गोर्खालीले अष्ट्रेलियामा नेपालीहरुका लागि बहुसांस्कृतिक सामुदायिक हल निर्माण गर्ने मुख्य एजेण्डा रहेको बताए ।
साथै उनले दोस्रो पुस्तालाई कसरी एनआरएनएमा अगाडि बढाउने, युवा पुस्ताका लागि नयाँ एजेण्डा र एनआरएनए फाउण्डेशनलाई कसरी व्यवस्थित गरी प्रयोग गर्ने लगायतका अन्य धेरै एजेण्डाहरु रहेको बताए ।
नेपालको गोरखाबाट सुरु भएको यात्रा चितवन हुँदै अष्ट्रेलियाको डार्विनमा आइपुगेका गोर्खाली नेपाली समुदायमा परिचित नाम मात्रै होइन, एक स्थापित नेतृत्वकर्ता पनि हुन् ।
प्रारम्भदेखि नै समाजसेवामा रुचि राख्ने गोर्खालीले अष्ट्रेलियामा आएपछि पनि आफ्नो सामाजिक सक्रियता निरन्तर जारी राखे, जसले गर्दा उनी आज एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय कार्यसमितिको अध्यक्षको दौडमा रहेका छन् ।
गोरखामा बाल्यकाल बिताएका ढकाल, चितवन हुँदै अष्ट्रेलिया आउँदा पनि समाजप्रतिको भावनालाई छोडेनन् । डार्विनमा बसोबास थालेपछि उनी समुदायमा देखिन थाले, कहिले आपतकालीन सहयोगमा, कहिले सांस्कृतिक कार्यक्रममा, त कहिले युवाहरूको नेतृत्व विकासमा सक्रिय रुपमा देखिने गरेका छन् ।



