Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

काभा मेन्स च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हेल्प नेपाल

Zenith Migration Education

काठमाडौँ । नेपालको हेल्प नेपाल स्पोट्र्स क्लब माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्स लिगको उपाधि यात्रामा होमिएको छ । च्याम्पियन्स लिग आगामी जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ ।

यसमा नेपालसहित पाँच राष्ट्रका लिग च्याम्पियनले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पाकिस्तानका दुई खेलाडीसँगै नेपाली लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीलाई अनुबन्धन गर्दै हेल्प नेपालको उपाधि यात्रामा होमिएको छ । यसै प्रतिस्पर्धामा सहभागी हुन नेपाली टोली आगामी सोमबार माल्दिभ्स प्रस्थान गर्नेछन् । नेपाल भलिबल संघले शनिबार एक कार्यक्रम आयोजना गर्दै उक्त टोलीलाई बिदाई गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य जगत धामी र राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंहलगायतले बिदाई गरेका थिए । सो अवसरमा सदस्यसचिव घिसिङले काभा च्यालेन्ज लिगमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । घिसिङले क्लबले यहाँसम्म आइपुग्न ठुलो चुनौती पार गर्नुपरेकाले अहिले यो सफलता पाएको बताए । नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपालले क्लबको मात्र नभई समग्र नेपाली र नेपालीको प्रतिनिधित्व गर्ने बताए ।

हेल्प नेपालले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा निकाल्ने अपेक्षा रहेको उनले बताए । हेल्प नेपालले पोखरामा सम्पन्न एनभिए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो । माल्दिभ्समा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्लबको लक्ष्य छ । तर क्लबले छोटो समयको तयारी गरेको छ । काभा च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान, किर्गिस्तानको च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

उत्सव खड्काको प्रशिक्षणमा नेपालले तयारी गरिरहेको छ । उनको सहायक प्रशिक्षकमा सुजन केसी र राजन कुमार उपाध्याय छन् । टिम म्यानेजरमा झम्क नारायण श्रेष्ठ छन् । अधिकांश विभागीय टोलीका खेलाडी समेटर टोली निर्माण गरिएको छ । हेल्प नेपालले काभा च्यालेन्ज लिगका लागि विभागीय टोली नेपाल पुलिस क्लबबाट रविन चन्द, रविन नगरकोटी, सफल विक र एपिएफबाट विनोदबहादुर चन्दलगायत खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ ।

साथै दुई पाकिस्तानी खेलाडी उस्मान र मोहम्मद आसिफ नाभिदलाई अनुबन्ध गरिएको छ । हेल्प नेपालमा अन्य खेलाडीमा विष्णुबहादुर क्षेत्री, सफल विक, चिरन्जिवी खड्का, विनोदबहादुर चन्द, यामबहादुर भण्डारी, सुवास कुँवर (कप्तान), मनीष मानन्धर, सन्तोष राई र रविन चन्द रविन नगरकोटी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु