Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

इयू अमेरिकासँग व्यापार सम्झौताका लागि तयार छ : इयू प्रमुख

Zenith Migration Education

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (इयू) अमेरिकासँग जारी कर विवाद समाधानका लागि ’सम्झौताका लागि तयार’ रहेको बताएका छन् । उनले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि वार्ताका लागि तयारी गरिरहेको बताएका हुन् ।

भोन डेर लेयेनले आरहुसको भ्रमणका क्रममा उक्त टिप्पणी गरे । सम्झौताका लागि जुलाई ९ सम्मको समयसीमा रहेको उल्लेख गर्दै उनले इयू र संयुक्त राज्य अमेरिकाबिचको व्यापार १.५ ट्रिलियन युरो (१.७७ ट्रिलियन अमेरिकी डलर) रहेको बताए ।

“यो ठूलो काम हो,” यूरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा उनको भनाइ उद्धृत गर्दै लेखिएको छ ।
‘सैद्धान्तिक रूपमा एउटा सम्झौता’ मा पुग्ने लक्ष्यमा जोड दिँदै भोन डेर लेयेनले भने, “दुई पक्षबीच व्यापारको विशाल परिमाणको कारण यो छोटो समयसीमाभित्र विस्तृत सम्झौतालाई अन्तिम रूप दिन असम्भव हुनेछ।”

उनले वार्ता असफल भएमा इयूले प्रतिशोधात्मक कदम चाल्न नहिचकिचाउने पनि बताएका छन् । उनले भने, “हामी सँगसँगै चित्तबुझ्दो सम्झौता हुन नसक्ने सम्भावनाका लागि तयारी गरिरहेका छौँ भन्ने तपाईहरु सबैलाई थाहा छ । हामी वार्ताबाट समाधान चाहन्छौँ ।’’

व्यापार र आर्थिक सुरक्षाका लागि युरोपेली आयुक्त मारोस सेफकोभिक हाल वासिङ्टनमा हुनुहुन्छ भने उहाँले सम्झौता गर्ने प्रयासमा अमेरिकी व्यापार प्रतिनिधिहरूसँग छलफल गरिरहनुभएको छ ।

यसैबीच, जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि दुवै पक्षलाई ‘छिटो र सरल सम्झौता’ गर्न आग्रह गर्दै यस्तो सम्झौता फार्मास्युटिकल्स, इन्जिनियरिङ र अटोमोटिभ म्यानुफ्याक्चरिंग लगायत प्रमुख क्षेत्रका लागि महत्त्वपूर्ण रहेकोमा जोड दिएका छन् ।

हाल संयुक्त राज्य अमेरिकाले इयूका कार र अटो पाट्र्समा २५ प्रतिशत र स्टिल र आल्मुनियमका उत्पादनहरूमा ५० प्रतिशत कर लगाएको छ ।

संयुक्त राज्य अमेरिकाले काठ, एयरोस्पेसका सामान तथा उपकरण, फार्मास्युटिकल्स, सेमीकन्डक्टर र महत्वपूर्ण खनिजहरू समावेश गर्न कर विस्तार गर्ने तयारी गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु