Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

एनएसडब्लु राज्य संयोजकमा राज गुरूङको उम्मेदवारी

Zenith Migration Education

सिड्नी — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२७) का लागि हुने निर्वाचनमा न्यू साउथ वेल्स (NSW) राज्य संयोजक पदमा राज गुरूङले उम्मेदवारी घोषणा गरेका छन्। आगामी जुलाई २६ मा हुने निर्वाचनलाई लक्षित गर्दै गुरूङले ‘डेमोक्रेट टिम’को नेतृत्व गर्दै औपचारिक रूपमा मैदानमा उत्रिएको घोषणा गरेका हुन्।

गुरूङको नेतृत्वमा तयार भएको टिम अन्य प्रतिस्पर्धी टिमहरूमध्ये अनुभव, समावेशिता र संस्थागत समर्थनको हिसाबले बलियो रहेको दाबी गरिएको छ। पत्रकार, व्यवसायी, समाजसेवी, महिला, युवा तथा विभिन्न जात–वर्गको प्रतिनिधित्व रहेको यस टिमलाई ‘साझा दृष्टिकोण र सामुदायिक चासो’ मा आधारित समावेशी समूहको रूपमा प्रस्तुत गरिएको छ।

जनसम्पर्क मञ्च अष्ट्रेलिया, एनएडीएफलगायत संस्थाहरू र अभियन्ताहरूको सक्रिय सहकार्यमा निर्माण भएको भनिएको उक्त टिमलाई जनसम्पर्क समिति अष्ट्रेलियाका केन्द्रीय सभापति सुरेश रानसिंह गुरूङ उपाध्यक्ष राजेश केसी, एनएसडब्लु संयोजक सीतल गिरी, तथा टिम संयोजक सत्यराज कडेलको सहमति र अगुवाइमा अघि सारिएको हो।

राज गुरूङ हाल एनआरएनए अष्ट्रेलिया, NSW राज्य परिषद (SCC) मा सह–सचिवका रूपमा कार्यरत छन्। २०१६ मा पत्नी अञ्जु गुरूङसँग अष्ट्रेलिया आएका उनी सामाजिक र संस्थागत क्षेत्रमा निरन्तर सक्रिय छन्। अञ्जु गुरूङ हाल अष्ट्रेलियामा रजिस्टर्ड नर्सका रूपमा कार्यरत छिन्। उनीहरूका साढे तीन वर्षका छोरा छन् भने छोरीको आगमनको प्रतीक्षामा रहेको परिवारले जनाएको छ।

चितवनको माडी नगरपालिका–१ निवासी गुरूङ विद्यार्थी जीवनदेखि नै सामाजिक, राजनीतिक र नेतृत्व क्षमतामा सक्रिय थिए। भरतपुरस्थित विरेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा उनले चार वर्षसम्म नेविसंघ इकाई सचिवका रूपमा नेतृत्व गरेका थिए।

उम्मेदवारी घोषणापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरूङले भनेका छन्, “जुलाई २६ को निर्वाचनलाई व्यक्तिगत आकांक्षा होइन, समुदायप्रतिको जिम्मेवारीको रूपमा लिएको छु। सबैलाई समेट्ने समावेशी नेतृत्वमार्फत अगाडि बढ्ने हो भने हाम्रो जित सुनिश्चित छ।”

जनसम्पर्क समितिका उपाध्यक्ष राजेश केसीका अनुसार, अष्ट्रेलियामा रहेका डेमोक्रेटहरू अहिले एकताको भावनामा एकताबद्ध भएका छन्। “विगतका तिक्तता भुलेर हामी राज गुरूङको नेतृत्वमा एक भएर अगाडि बढिरहेका छौं,” केसीले भने, “राज्यदेखि केन्द्रसम्म भारी समर्थन हाम्रो पक्षमा छ।”

सशक्त संरचना, साझा दृष्टिकोण र संस्थागत समर्थनका साथ अघि बढिरहेको ‘डेमोक्रेट टिम’ अबको निर्वाचनमा बलियो प्रतिस्पर्धीको रूपमा प्रस्तुत भएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु