Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

ट्रम्पको कठोर निर्णय : १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध

Zenith Migration Education

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षालाई प्रमुख कारण देखाउँदै १२ देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने एक विवादास्पद कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसका साथै, अन्य ७ देशका नागरिकहरूमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ ।

यो निर्णय आगामी जुन ९ देखि कार्यान्वयनमा आउने फक्स न्युजले जनाएको छ । ह्वाइट हाउसका अनुसार, पूर्ण प्रतिबन्धको सूचीमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन परेका छन् । यी देशका नागरिकहरूले अब सामान्य अवस्थामा अमेरिकी भिसा प्राप्त गर्न सक्ने छैनन् ।

त्यसैगरी, बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक यात्रा प्रतिबन्धको दायरामा राखिएको छ । ह्वाइट हाउसका अधिकारीहरूले यो निर्णय राष्ट्रपति ट्रम्पको चुनावी वाचा अनुसार ‘अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने’ प्रतिबद्धताको हिस्सा भएको बताएका छन् । उपप्रवक्ता अबिगेल ज्याक्सनले भनिन्, ‘अमेरिकी जनतालाई हानि पुर्‍याउन चाहने खतरनाक विदेशी तत्वहरूबाट जोगाउन राष्ट्रपति ट्रम्पले प्रतिबद्धता पूरा गरिरहनुभएको छ ।’

उनले यी प्रतिबन्धहरूलाई ‘साझा समझदारी’को कदम भन्दै थपिन्, ‘यो निर्णय ती देशहरुमा लक्षित छ जसमा उचित जाँच प्रक्रिया छैन, भिसा अवधि नाघ्ने दर उच्च छ र खतरा सम्बन्धी सूचना आदानप्रदान गर्न असफल छन् ।’

यद्यपि, यो प्रतिबन्ध अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरू, जुन ९ भन्दा अघि नै भिसा प्राप्त गरिसकेकाहरू, केही निश्चित भिसा श्रेणीका आवेदकहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा पुर्‍याउने व्यक्तिहरूका हकमा भने लागु नहुने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु