Monday, September 14, 2026
Zenith Migration Education
Monday, September 14, 2026

सिड्नीमा ‘बेल्ला भिस्टा साइकेट्री एण्ड वेलबिइङ क्लिनिक’को भव्य शुभारम्भ

Zenith Migration Education

सिड्नी —अष्ट्रेलियाको सिड्नीस्थित बेल्ला भिस्टामा नेपाली समुदायद्वारा स्थापना गरिएको ‘बेल्ला भिस्टा साइकेट्री एण्ड वेलबिइङ क्लिनिक’को भव्य रूपमा उद्घाटन गरिएको छ। लेभल १, युनिट २०, २९–३१ लेक्सिङ्टन ड्राइभमा अवस्थित क्लिनिकको उद्घाटन न्यू साउथ वेल्सका लागि मानार्थ महावाणिज्यदूत सञ्जीवकुमार शर्मा, मनोचिकित्सक डा. घनश्याम चापागाईं र डा. विकास श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।

शुभारम्भ कार्यक्रममा नेपाली समुदायका अगुवा, स्वास्थ्यकर्मी, व्यवसायी, समाजसेवी तथा विविध क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। परम्परागत शैलीमा सुरु गरिएको कार्यक्रममा डा. चापागाईंले क्लिनिकको उद्देश्यबारे जानकारी दिँदै मानसिक स्वास्थ्य चुनौती समाधानका लागि परामर्श, उपचार र औषधि व्यवस्थापन सेवा प्रदान गरिने जानकारी दिए।

“बेल्ला भिस्टा साइकेट्री एण्ड वेलबिइङ क्लिनिकले नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या पहिचान, रोकथाम र व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिएका छौँ,” उनले उल्लेख गरे। उनका अनुसार क्लिनिकमा हाल दुई जना पूर्णकालिक मनोवैज्ञानिक कार्यरत छन्, र निकट भविष्यमा सेवा विस्तारको तयारी भइरहेको छ।

क्लिनिकका सह–संस्थापक तथा नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक सङ्गीता चापागाईंले सहभागीप्रति आभार व्यक्त गर्दै, “हामीले यो अभियान आफ्ना आफन्त, साथीभाइ तथा समुदायसँग मिलेर अघि बढाउन पाएकोमा गर्व महसुस गरेका छौँ,” भनिन्। उनले समुदायबाट प्राप्त साथ, सद्भाव र विश्वासले थप प्रेरणा प्राप्त भएको उल्लेख गरिन्।

अष्ट्रेलियामा करिब आधा वयस्क जनसंख्याले जीवनको कुनै न कुनै चरणमा मानसिक स्वास्थ्य समस्याको सामना गर्ने तथ्यांकले देखाएको छ। यस्तो अवस्थामा, भाषा र संस्कृतिको समझ भएका स्वास्थ्य पेशेवरहरूबाट सहज र संवेदनशील सेवा प्राप्त गर्नु प्रवासी समुदायका लागि विशेष महत्त्वको विषय बनेको छ।

क्लिनिकले निकट भविष्यमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम, समुदाय लक्षित सेमिनार तथा निःशुल्क स्वास्थ्य परीक्षण क्याम्प सञ्चालन गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु