सिड्नी, अष्ट्रेलिया — अष्ट्रेलियाको सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थी बिमला थापा आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्। जिल्ला पर्वतको मोदी गाउँपालिका–६ स्थायी ठेगाना भएकी थापाको हालको बसोबास नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, गैडाकोट नगरपालिका–६ मा थियो। उनी तीन वर्षअघि उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन्।
गत अप्रिल १३,तारिखको दिउँसो सिड्नीको केएमसी क्षेत्रमा साथीसँग युनिट सेयरिङ गरेर बस्दै आएकी थापा कोठाभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृत्युको कारण खुल्न सकेको छैन भने अनुसन्धान जारी रहेको जनाइएको छ।
२०५८ सालमा जन्मिएकी बिमला होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत थिइन्। उनी हाल टेम्पररी रेसिडेन्सी (TR) भिसामा अष्ट्रेलियामा बसेकी थिइन्। अध्ययनसँगै काम गरेर आत्मनिर्भर बन्ने लक्ष्यसहित अघि बढिरहेकी बिमला अष्ट्रेलिया पुगेको तीन वर्षमै यति ठूलो दुर्घटनाको शिकार बनेकी हुन्।
बिमलाकी आमा चित्रा थापाले छोरीको निधन शंकास्पद रहेको बताउँदै घटनाको गम्भीर छानबिन र दोषी पत्ता लगाई कारबाहीको माग गरेकी छन्। “शनिबार दिउँसो मात्रै भिडियो कलमा खुसीसाथ कुरा गरेकी थिई। भोलिपल्ट यस्तो खबर आयो, अझै पनि पत्याउन सकिरहेको छैन,” चित्राले भनिन्।
बाबु बहादुर थापाको निधन बिमला एक वर्षकी हुँदा सडक दुर्घटनामा भएको थियो। त्यसयता उनी आमासँगै मामा घरमा हुर्किएकी थिइन्। मामा, आमा र ठूली आमाको सहमतिमा उनी उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पठाइएको थियो।
“बिमला मेरी जिउँदो सहारा थिई। मलाई अष्ट्रेलिया बोलाएर सँगै नेपाल फर्कने योजना बनाएकी थिई,” आमाले भक्कानिँदै भनिन्।
उनको असामयिक निधनले सिड्नीस्थित नेपाली समुदाय मात्र होइन, सिंगो नेपाली समुदाय यो घटनाबाट स्तब्ध बनेको छ। विदेशमा आफ्ना सपना बुन्दै अघि बढिरहेकी एक युवतीको यति दुखद अन्त्यले सबैलाई भावुक तुल्याएको छ।



