अष्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोयमा नेपाली अवैतनिक वाणिज्यदूतको नयाँ कार्यालयको उद्घाटन भएको छ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले मेलबर्नको ग्लेनरोयमा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूतको नयाँ कार्यालय उद्घाटन गरेकी हुन् ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदुत यादवले कन्सुलेट अफिसलाई थप अधिकार दिनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन् ।
वाणिज्यदूत निराजन गौलीले हाल उपलब्ध अधिकारभित्रै सेवा प्रवाह भइरहेको जनाउँदै थप अधिकार प्राप्त भए सेवाग्राहीलाई अझ राम्रो सुविधा दिन सकिने बताए।
एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले आफ्नो कन्सुलर सेवाको अनुभव साझा गरे भने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, न्याभका अध्यक्ष याकेन्द्र तिमिल्सिना, ANMC का अध्यक्ष डा. तिलक पोखरेल र फेन्काका अध्यक्ष बोम योञ्जनले शुभकामना व्यक्त गरे।
नयाँ कन्सुलेट अफिसले मेलबर्न र आसपासका नेपाली समुदायलाई सहज सेवा प्रदान गर्ने विश्वास गरिएको छ।



