काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले राजीनामा दिएका छन् । प्रमुख शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष आइतबार राजीनामा बुझाएका हुन् ।
उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
प्रमुख बालेनले बुझाएको राजीनामा पत्रमा आफ्नो कार्यकालको छोटो समीक्षा गर्दै आगामी नेतृत्वका लागि शुभकामना व्यक्त गरिएको छ। पत्रमा भनिएको छ, ‘यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’




