गुल्मी । गुल्मीमा नेकपा एमालेले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्याएको छ । केन्द्रीय राजनीतिमा हेभिवेट नेताका रुपमा परिचित प्रदीप ज्ञवाली र गोकर्ण विष्ट नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका छन् ।
एमालेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको हो ।
निर्वाचन क्षेत्र नम्बर १ का लागि एमालेका केन्द्रीय सदस्य प्रदीप कुमार ज्ञवाली उम्मेदवार बनेका छन् । प्रभावशाली नेताका रुपमा रहेका ज्ञवाली पूर्वमन्त्री समेत हुन् । २०७९ को निर्वाचनमा ज्ञवाली नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीसँग पराजित भएका थिए । ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्दा उनले ३३ हजार ७४४ मत प्राप्त गरी विजयी भएका थिए ।
यसैगरी, निर्वाचन क्षेत्र नम्बर२ का लागि एमालेका केन्द्रीय उपाध्यक्ष गोकर्णराज विष्ट उम्मेदवार बनेका छन् । पूर्वमन्त्री समेत भएका विष्ट यस क्षेत्रबाट पटक–पटकको निर्वाचनमा विजयी हाँसिल गरेका थिए । २०७९ को निर्वाचनमा विष्टले तत्कालीन नेकपा एसका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्दा विष्टले २८ हजार ४८५ मत प्राप्त गरी विजयी भएका थिए । झाँक्रीलाई नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका पार्टीले सहयोग गरेका थिए ।



