नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनपछि आफू नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनःनिर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दाबी गरेका छन् ।
बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरूसँगको संवादमा उनले सो दाबी गरेका हुन् । संवादमा उनले ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा आफूविरुद्ध कसैले उम्मेदवारी नदिउन् भन्ने आफ्नो चाहना रहेको भएपनि स्थिति त्यतातिर नगएको बताए । उनले महाधिवेशनको प्रस्तावबारे शुक्रवार अन्तिम छलफल बसेर टुंगिने समेत जानकारी गराए । अघि बढाउने प्रस्ताव सहमतिमै हुने उनको भनाइ छ ।
उनले भने, ‘अहिले राष्ट्रिय पुनःजागरण, पुनस्र्थापना, राष्ट्रिय पुर्न निर्माण र सुशासनको अभियान यी चार वटा कुराहरू गर्नुपर्नेछ । यी कुराहरू नै मैले पनि गर्ने हो । मेरो नेतृत्वमा मेरो पार्टीले यी कुराहरूकै अगुवाई गर्ने हो । एकता, पुनस्र्थापना र पुर्न निर्माण गर्नुपर्नेछ । महाधिवेशनपछि मेरो नेतृत्वको नेकपा (एमाले)ले यो कामहरू गर्छ ।’
उनले पार्टीको अगामी अध्यक्ष आफैं हुने थाहा भएपनि धेरैलाई यो कुरा सह्य हुन नसकेको टिप्पणी पनि गरे ।



