Sunday, January 18, 2026
Zenith Migration Education
Sunday, January 18, 2026

हेटौँडाको बाइपास सडक विस्तार तीव्र, डिभिजनले सवारी आवागमन वैकल्पिक मार्गतर्फ मोडिने तयारी

Zenith Migration Education

मकवानपुर । हेटौँडा बजार क्षेत्र हुँदै जाने मुख्य सडकको भीडभार कम गर्न निर्माणाधीन बाइपास सडकको काम तीव्र गतिमा अघि बढेको छ। सडक डिभिजन कार्यालय, हेटौँडाले वैकल्पिक मार्गका रूपमा तयार पारिएको बाइपास खण्डमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको र निर्माण कार्य निरन्तर जारी रहेको जनाएको छ ।

रातोमाटे–बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्म करीब ९.५ किलोमिटर दूरीमा पर्ने मुख्य सडक विस्तार तथा व्यवस्थापन कार्यसँगै बजार भीड घटाउन निर्माण गरिएको बाइपास रोड ३ किलोमिटर लम्बाइको रहेको डिभिजनले जनाएको छ ।

डिभिजनले अतिक्रमित संरचना हटाउने, सडक चौडाइ रेखांकन गर्ने, आवश्यक ग्राभेल–प्याकिङ, रोलिङ तथा ट्राफिक व्यवस्थापन मिलाउने जस्ता काम अघि बढाइरहेको छ । सो क्षेत्रमा रहेका ५३१ संरचनामध्ये धेरैलाई सूचना दिएर हटाउने प्रक्रिया सुरु गरिएको छ ।

डिभिजनका इञ्जिनियरका अनुसार बजार क्षेत्रमा बढ्दो जाम हटाउन बाइपास मार्गलाई प्राथमिकताका साथ व्यवस्थित गरिँदैछ। प्राविधिक काम सकिएलगत्तै सवारी साधनलाई चरणबद्ध रूपमा बाइपासमार्ग हुँदै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

यद्यपि केही स्थानमा स्थानीयवासीले मुआब्जा तथा संरचना हटाउने विषयमा असन्तुष्टि जनाएपछि काम केही अन्तरालमा प्रभावित भएको बताइएको छ। तर, डिभिजनले सबै प्रक्रिया कानुनी तथा प्राविधिक ढंगले अघि बढाइने र प्रभावितलाई सम्भव सहयोग प्रदान गरिने उल्लेख गरेको छ ।

सडक डिभिजन कार्यालयले निर्माण कार्यका कारण अस्थायी रूपमा वैकल्पिक मार्ग प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ। १५ दिने सूचना अवधि सकिएपछि भोलिदेखि सडक विस्तारको काम औपचारिक रूपमा सुरु हुने डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार हेटौँडा बजार क्षेत्रभित्र चल्ने साना सवारी, अटो, मयुरी रिक्सालगायतका साधनलाई पनि बाइपासमार्गतर्फ मोडिने तयारी गरिएको छ, जसले बजारभित्रको भीडभार उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु