Saturday, April 18, 2026
Zenith Migration Education
Saturday, April 18, 2026

डा. स्वर्णिम वाग्ले अस्ट्रेलिया दौडाहामा, तीन शहरमा अन्तरक्रिया कार्यक्रम

Zenith Migration Education

सिड्नी — प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलियाले वरिष्ठ अर्थविद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेसँग नेपालका पछिल्ला अर्थ–राजनीतिक विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रमहरूको श्रृंखला अष्ट्रेलियाको तीन सहरमा आयोजना गर्ने भएको छ।

पहिलो कार्यक्रम आगामी डिसेम्बर २, मंगलबार सिड्नीको मेरील्याण्ड्सस्थित द गार्डेन्स फंक्शन सेन्टरमा बेलुका ६ देखि ९ बजेसम्म हुनेछ। कार्यक्रमका प्रमुख अतिथिमा डा. वाग्लेको उपस्थिति रहने प्रवास नेपाली सम्पर्क विभाग, NSW कमिटीका सचिव सूर्य न्यौपानेले जानकारी दिए।

यस्तै प्रकृतिको दोस्रो अन्तरक्रिया डिसेम्बर ४, बिहीबार क्यानबेराको गोल्डेन मोमेन्ट इभेन्ट्स सेन्टर, फिशविकमा आयोजना हुने बताइएको छ। यसबारे सूचना क्यानबेरा समिति सदस्य सुरेन्द्र पुरीले दिएका छन्।

यसैबीच, डिसेम्बर ६, शनिबार पर्थमा पनि डा. वाग्लेकै उपस्थितिमा प्रवास नेपाली सम्पर्क विभाग (पर्थ) को पहिलो ऐतिहासिक राष्ट्रिय अधिवेशन हुने कार्यक्रम रहेको कमल तिमिल्सनाले बताए। पर्थको कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ।

अस्ट्रेलियाली सरकारको निमन्त्रणामा डा. वाग्ले डिसेम्बर ३ देखि ५ सम्म क्यानबेरास्थित अस्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU) मा हुने वार्षिक ‘एड’ सम्मेलनमा विशेष वक्ताका रूपमा सहभागी हुने एशिया फाउन्डेसनले जनाएको छ। उनले सार्वजनिक वित्त, लगानी तथा दान–दातव्य प्रणालीबारे भइरहेका परम्परागत विकास सहयोग मोडेलका परिपूरक विषयमा प्राज्ञिक प्यानल छलफलमा प्रस्तुति दिनेछन्।

अस्ट्रेलियाको तीन शहरमा पाँच दिन लामो अकादमिक तथा प्रवासी–केन्द्रित कार्यक्रम सम्पन्न गरेर डा. वाग्ले डिसेम्बर ६ कै रात नेपाल फर्कने कार्यक्रम रहेको आयोजकले जनाएको छ। सबै कार्यक्रमको तयारी पूरा भएको प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलियाका अध्यक्ष डा. किण्ण पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु