Tuesday, September 22, 2026
Zenith Migration Education
Tuesday, September 22, 2026

बाजुरामा ‘प्रथम गौमुल कप’ फुटबल प्रतियोगिता सम्पन्न, उपाधी केपी बा स्पोट्र्स क्लवको पोल्टामा

Zenith Migration Education

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा सञ्चालित ‘प्रथम गौमुल कप’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबारबाट सुरु भएको प्रथम खुला गौमुल कप सेभन ए–साइड फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।

गाउँपालिकाको खेल क्षेत्रको विकासमा टेवा पुर्याउने उदेश्यका साथ सञ्चालन गरिएको उक्त फुटबल प्रतियोगिताको उपाधी भने केपी बा स्पोर्टस् क्लबले जितेको छ ।

राइजिङ स्टार क्लब गौमुल–५ मानाकोटलाई गोलरहित बराबरीमा रोक्दै पेनाल्टी सुटआउटबाट केपी बा स्पोर्ट क्लबले जित हात पारेको हो । प्रतियोगितामा उपाधी जितेको केपी बा स्पोर्टस् क्लबलाई नगद ५१,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ  । 

त्यस्तै उपविजेता बनेको राइजिङ स्टार क्लब गौमुल–५ मानाकोटलाई नगद ३१,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो।प्रतियोगिता क्रियटिभ युथ क्लब को आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको थियो ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती बाजुराका प्रमुख तुलसीराम रोकायाले खेल क्षेत्र आपसी सद्भाव,भाईचाराको सम्बन्ध तथा स्वस्थ्य समाज निर्माण गर्ने प्रमुख आधार भएकोले खेल क्षेत्रको विकासमा सबैले लाग्न जरूरी रहेको बताए ।

त्यस्तै उनले खेललाई प्रतिस्पर्धा भन्दा पनि मित्रता र एकताको माध्यमका रूपमा बुझ्न जरुरी रहेको बताएका हुन्। साथै जिल्लामा उचित किसिमको खेलमैदान नहुदाँ कतिपय खेलाडीले खेल क्षेत्रबाट हात धुनु परेको बताएका हुन्।उचित किसिमको खेल मैदान निर्माण गर्न सबैले आ–आफ्नो ठाउँबाट समन्वय,सहकार्य गर्न जरुरी रहेको बताएका हुन् ।

गौमुलमा आगामी ‘देशभरिकै नमूना कप’ आयोजना गरिने 

गौमुल गाउँपालिकामा आगामी बर्षदेखि ‘देशभरिकै नमूना कप’ आयोजना गरिने भएको छ । खेल र खेलाडीको सर्वाङगिण विकासका लागि पालिका विभिन्न खेलकुदका कार्यक्रम संगै आगामी बर्षदेखि नमुना कप आयोजना गरिने अध्यक्ष हरि बहादुर रोकायाले बताए ।

गाउँपालिकाले ‘देशभरिकै नमूना कप’ आयोजना गर्ने घोषणा समेत गरिसकेको छ ।खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्न आगामी बर्ष देखि ‘देशभरिकै नमूना कप’ आयोजना गरिने भएको हो । ‘नमुना कप प्रतियोगिताले पालिकाको खेल क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास छ ।

साथै गाउँपालिकाले खेलमैदानको व्यवस्थापन गर्दै बृहत्तर खेलकुद कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ । खेलकुद क्षेत्रले आपसी सद्भाव, सामाजिक एकता,भाईचाराको भावना,र स्वस्थ्य जीवन निर्माणमा सहयोग पुर्याउने हुँदा खेलकुद क्षेत्रको विकासमा पालिकाले विशेष जोड दिएको गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले बताएकी छन् ।

खेल क्षेत्र समाज विकासको एक महत्वपूर्ण आधार हो । त्यसैले खेल क्षेत्रलाई उच्च प्राथामिकतामा राखेर आगामी बर्षदेखि देशभरीकै नमुना कप आयोजना गरिने उनले बताईन्।  जिल्लामा गुणस्तरीय खेल मैदान निर्माण गर्न सकेको खण्डमा बाजुराले खेल क्षेत्रबाटै चर्चा कमाउन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु