Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

एनआरएनए यूकेद्धारा बेलायत–नेपाल सिधा हवाई उडानको पहललाई समर्थन

Zenith Migration Education

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका सांसद ग्यारेथ थोमसले सुरु गरेको काठमाडौं सिधा उडान डाइरेक्ट फ्लाइट्स टु काठमाडौं अभियानलाई समर्थन गर्दै नेपाल-बेलायतबीच सिधा हवाई उडान सुरु गर्न आग्रह गरेको छ।

संघका अध्यक्ष प्रेम गाहा मगरले भने, ‘सांसद थोमसको यो पहलले यूकेमा बसोबास गर्ने हजारौं नेपाली, विशेषगरी वृद्ध, विद्यार्थी र भूतपूर्व गोर्खा परिवारका लागि यात्रा सहज र सुलभ बनाउनेछ। यसले नेपाल–बेलायतबीच पर्यटन, व्यापार र जनस्तरको सम्बन्धलाई थप नयाँ उचाइमा पुर्‍याउनेछ।’

संघका कार्यवाहक अध्यक्ष तिर्थराज मल्ल (अनिल)ले भने, ‘लामो ट्रान्जिट र महँगो भाडाको झन्झटबाट यात्रुहरुलाई मुक्त गर्न सिधा उडान अत्यावश्यक छ। यस्तो उडान सुरु हुनु दुवै देशका जनबीचको सम्बन्धलाई अझ नजिक ल्याउने महत्वपूर्ण कदम हुनेछ।” त्यसैगरी, संघका महासचिव जुरेन्द्र खजुम लिम्बुले भने, यो अभियानको सफलताले यात्राको सहजतासंगै नेपाल र बेलायतबीचको आपसी सम्बन्ध र भावनात्मक नातालाई अझ प्रगाढ बनाउनेछ।’

संघका प्रमूख सल्लाहकार आर.के. त्रिपाठीले भने, ‘हामी सांसद थोमससंग प्रत्यक्ष समन्वयमा छौँ। बेलायतका प्रमूख विमानस्थलहरुबाट नेपालसम्म सीधा उडान सञ्चालनको सम्भाव्यता अध्ययन अघि बढाउन सक्रिय पहल भइरहेको छ।’

संघका प्रवक्ता डा. कुलप्रसाद कंडेलले भने, ‘सांसद थोमसको यो पिटिशन यूकेका नेपालीहरुको लामो प्रतीक्षा समाप्त गर्ने ऐतिहासिक कदम बन्न सक्छ। एनआरएनए यूके यस अभियानमा सक्रिय रुपमा सहभागी हुनेछ।’

संघले बेलायतमा रहेका सम्पूर्ण नेपाली समुदाय र संघ-संस्थाहरुलाई पिटिशनमा हस्ताक्षर गरी अभियान सफल बनाउन समर्थन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु