नेकपा एमालेका सचिव रघुवीर महासेठले जेन जी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएको आरोप लगाएका छन् ।
गृहनगर जनकपुरधाममा सञ्चारकर्मीहरूसँग शुक्रवार कुरा गर्दै सचिव महासेठले यस्तो बताएका हुन् ।
उनले आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा जेन जी युवाहरूको संलग्नता नरहेको बताए । उनले आन्दोलनका क्रममा लोकतन्त्र समाप्त पार्ने नियतले योजनाबद्ध रूपमा हिंसा मच्चाइएको दाबी गरे ।
जेनजी युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनेजस्ता जायज मागहरू उठाउँदै आएको पनि बताए ।
उनले आन्दोलन चर्काउन देशी–विदेशी शक्तिहरू सक्रिय भएको उल्लेख गर्दै सार्प सुटरहरू प्रयोग गरी युवाहरूको हत्या गराइएको गम्भीर आरोपसमेत लगाए ।



