काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू फेरि कारागार फर्किने बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकाले आफूमाथि अब अन्याय नहुने विश्वाससहित कारागार जान लागेको बताएका हुन् ।
‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो,’ उनले भनेका छन्, ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु ।’ उनले कारागार जोगाउन आफूलाई निकालिएको लामिछानेको दाबी छ ।
‘त्यति बेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो,’ उनले भनेका छन्, ‘अहिले चिठी नै वैधानिक छैन भनेको सुन्छु । जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्नँ ।’
जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए ।



