Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै

Zenith Migration Education

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ । साथै मन्त्रालयले अस्थायी रूपमा आफूलाई व्यवस्थापन गर्न स्थान खोजिरहेको जनाएको छ ।

रामशाहपथस्थित मन्त्रालयको चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन खरानी भएका छन् । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर परेको छ । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ ।

मन्त्रालयका सचिव डा विकास देवकोटाले हालसम्म घाइतेको उपचारमा केन्द्रित भएर समन्वयकारी भूमिका गरिरहेको र अस्पताललाई आवश्यक पर्ने सामग्री दिने तथा त्यहाँबाट प्रदर्शनमा घाइतेको जनकारी लिने काम गरिरहेको बताए ।

उनले भने, “भवनको सबै कोठा, सरसामान जलेर नष्ट भएको छ । कुनै पनि बाँकी छैन । त्यहाँ बाँकी रहेका सामान स्थान्तरण गर्ने कार्य सम्भव नै भएन ।”

सचिव देवकोटाले हाललाई मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट भोलिदेखि आंशिक रुपमा काम सुरु गर्ने योजना बनाएको जानकारी गराए । सामान्य तोडफोड भए पनि उक्त भवन भने जल्नबाट जोगिएको छ । उनका अनुसार सिंहदरबारमा ठाउँ मिल्यो भने पछि त्यहाँ मन्त्रालयलाई स्थान्तरण गर्ने विचार गरिएको छ ।

मुलुकले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई पाइसकेको छ । मन्त्रीमण्डल विस्तार गर्ने तयारी हुँदैछ । स्वास्थ्यमन्त्री नियुक्त भएपछि कार्यकक्षका लागि मन्त्रालयसँग ठाउँ पनि छैन । सचिव देवकोटाले एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरेको बताए । “हामी कर्मचारीहरु त एउटा हलमा बसेर काम गरौला । मन्त्रीका लागि त्यही रहेको एउटा कोठा तयार गरेका छौँ । अहिलेलाई त्यहाँ काम गर्ने र सिंहदरबारभित्र ठाउँ पाउनका लागि पहल गरिरहेका छौँ”, उनले भने ।

मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । “इमेलमा रहेका कागजपत्रलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने । नयाँ नेतृत्व आएपछि उहाँको मार्ग निर्देशनपछि थप काम गर्ने विचार छ”, डा देवकोटाले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु