काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादव संविधानको सही कार्यान्वयनबाट नै जेन जेडको माग पूरा गर्नुपर्ने बताएका छन् । एक वक्तव्य जारी गर्दै घातक प्रवृत्तिबाट भविष्यमा मुलुकलाई जोगाउनका निम्ति गम्भीरतापूर्वक लिन अपिल गरेका छन् ।
जेनजी आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योलको अन्त्य गर्दै हरेक नागरिकको जीउ र धनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोर्याउन जिम्मेवार निकायलाई अपिल गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यस प्रयोजनको निम्ति नेपालको संविधान २०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र उपाय हो । झन्डै सात दशकको सपना र सयौँ शहीदको बलिदानपश्चात्, जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान २०७२ को सही कार्यान्वयनबाट नै जेनजी पुस्ताका आकांक्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ भन्ने मेरो मान्यता छ ।’
युवाहरूको सो आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन-व्यवस्था अर्थात् सुशासन जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका निम्ति भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘तिनले उठाएको माग हामी जो(कोहीका पनि अभीष्ट हुन् । तर, आन्दोलनका नाममा त्यस दिन र भोलिपल्ट समेत मुलुकमा जुन तहको विनाश र विध्वंस मच्चाइयो–त्यसको कारण, उद्देश्य र कर्ता समेतको वास्तविकता पहिल्याउनु आज अति जरुरी छ।’



