Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

NSW संयोजक उषा पोखरेलको सक्रियतामा अलपत्र विद्यार्थी उद्धार

Zenith Migration Education

सिड्नी — अष्ट्रेलियामा लामो समयदेखि अलपत्र परेका नेपाली विद्यार्थी (नाम परिवर्तन) भुमेस श्रेष्ठलाई, सामाजिक अभियन्ता जीवन रायमाझी र नेपाली दूतावासको सहकार्यमा उद्धार गरी शुक्रबार साँझ नेपाल फर्काइएको छ।

एनआरएनएको फण्ड प्रयोग गरी इन्डिया एयरलाइन्सको साँझ ७:३० बजेको उडानमार्फत उनलाई स्वदेश पठाइएको हो।

श्रेष्ठ सन् २०१३ मा विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेका थिए। तर, उनको भिसा धेरैअघि नै रद्द भइसकेको थियो र पासपोर्टको म्यादसमेत सकिएको थियो।

समयसँगै उनी मदिराको लतमा फस्दै गए, परिवारसँग सम्बन्ध धमिलियो र मानसिक तथा शारीरिक रूपमा कमजोर हुँदै गए। करिब ३२ वर्षीय श्रेष्ठले पटक–पटक आत्महत्याको प्रयाससमेत गरेका थिए।

एक दिन उनले राज्य संयोजक उषा पोखरेललाई फोनमा “म मर्दैछु” भन्दै सहयोग मागेपछि केस झनै गम्भीर बनेको थियो।

घर फर्किने आशा मात्र होइन, बाँच्ने इच्छा समेत हराइसकेका उनी पार्क, रेल स्टेशन र कहिलेकाहीँ चलिरहेको ट्रेनमै रात बिताउँदै आएका थिए।

“संघर्षसँग लड्न र अप्ठेरोमा परेकाको सेवा गर्नु नै मेरो धर्म हो,” भन्ने अठोटसहित संयोजक उषा पोखरेल दिनरात नभनी उद्धारमा खटिएकी थिइन्।

यस प्रक्रियामा क्यानबेरा एनआरएनए, संयोजक ललित मल्ल, एनएसडब्ल्यू युवा संयोजक रमेश ठकुरी, कोषाध्यक्ष निजन चौलागाई र राज्य सचिव प्रताप पन्थी लगायतले संयुक्त रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु