Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

झुम्का कारागारमा फेरि दुई कैदीको मृत्यु, स्वास्थ्य सेवामाथि प्रश्न

Zenith Migration Education

सुनसरी । सुनसरीको झुम्का कारागारमा फेरि दुई कैदीको मृत्यु भएको छ । धरान–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गएको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, उराँव कर्तव्यज्यान मुद्दामा २५ वर्षको कैद सजाय भोगिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि गत वैशाखदेखि झुम्कामा थुनामा थिए ।

शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएका उराँवलाई तत्काल अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा सोमबार दिउँसो उनको मृत्यु भयो । त्यस्तै, मङ्गलबार बिहान राईको पनि मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

यसअघि भदौ ४ गते भोजपुर हतुवागढीका २८ वर्षीय विकास राईको पनि बीपी प्रतिष्ठानमै उपचारको क्रममा निधन भएको थियो । यससँगै १३ दिनको अन्तरालमै झुम्का कारागारमा तीन कैदीले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य सेवामा कडाइको आवश्यकता
लगातार मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले कारागारमै स्वास्थ्य शिविर सञ्चालन गर्न र गम्भीर बिरामीहरूको विवरण सङ्कलन गरेर आवश्यक परेमा अन्यत्र स्थानान्तरण गर्ने योजना अघि सारेको छ ।

हाल झुम्का कारागारका ‘ए’ र ‘बी’ गरी दुई ब्लकमा एक हजार ७९४ जना कैदी रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी मिश्रले तीनै मृतक दीर्घ रोगी भएको दाबी गर्दै मृत्युका कारण कारागार व्यवस्थापन वा अन्य कुनै बाह्य कारण नभएको बताए ।
उनका अनुसार उनीहरू अन्य जिल्लाबाट उपचारका लागि ल्याइएका बिरामी थिए । अस्पताल ल्याउँदा नै गम्भीर अवस्थामा थिए ।”

तर, कैदीहरूको स्वास्थ्य समस्याको सङ्ख्या बढ्दै जानु र छोटो अवधिमै तीनजनाको मृत्यु हुनुले कारागार भित्रको स्वास्थ्य सेवा र व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु