काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले फोन कल गर्दा आवाज कम गर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक सूचना जारी गर्दै ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै यसलाई न्यून पार्न सबैलाई सचेत रहन आग्रह गरेको हो ।
प्रहरीका अनुसार ध्वनि प्रदूषणले विशेष गरी गर्भवती महिला, मुटुका बिरामी, वृद्ध वृद्धा र बालबालिकाको मानसिक, शारीरिक तथा शैक्षिक स्वास्थ्यमा गम्भीर असर पार्छ । साथै, यसले सर्वसाधारणको सामाजिक, आर्थिक गतिविधि र नैतिक मूल्यमा समेत नकारात्मक प्रभाव पार्ने बताइएको छ ।
त्यस्तै, अबेर रातिसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको बेल राति अनावश्यक रूपमा नबजाउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन सूचनामा उल्लेख गरेको छ ।
प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि कानुनले तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । साथै, टोल–छिमेकमा यस्तो गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरिएको छ ।




