काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको हो । बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा उठाइने मुख्य तथा नियमित एजेण्डाहरूको बारेमा पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओली शनिबारदेखि पाँच दिने चीन भ्रमणमा जाँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम छ। साथै भदौ १६ गते तियानजिनमा हुने शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली जापानविरुद्धको युद्धमा विजयी भएको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा पनि सहभागी हुने छन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्ण बहादुर खड्का र छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा लगायत उच्चपदस्थ सरकारी अधिकारीहरू समावेश छन् । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।



