Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

अष्ट्रेलियाली सरकारद्वारा व्यापार प्रोत्साहनका लागि अतिरिक्त शुल्क कम गर्ने निर्णय

Zenith Migration Education

क्यानबरा (अष्ट्रेलिया) । अष्ट्रेलियाली सरकारले आर्थिक उत्पादनशीलता बढाउन र स्वतन्त्र व्यापार प्रोत्साहन गर्न ५०० भन्दा बढी ‘अतिरिक्त’ शुल्कहरू हटाउने निर्णय गरेको छ ।

कोषाध्यक्ष जिम चाल्मर्स, व्यापार मन्त्री डोन फ्यारेल र उद्योग तथा नवप्रवर्तन मन्त्री टिम आयर्सले बिहीबार जानकारी दिए अनुसार, टायर, रक्सीका गिलास र टेलिभिजनजस्ता वस्तुहरूमा लाग्ने साना शुल्कहरू आगामी आर्थिक वर्ष १ जुलाई सन् २०२६ देखि हटाइनेछ । यसले व्यवसायहरूलाई नियम पालनामा पर्ने झन्झट कम गर्नेछ ।

कानबरामा सञ्चारकर्मीहरूलाई बोल्दै चाल्मर्सले भने, “यी अतिरिक्त शुल्कहरूले कहिलेकाहीँ लाभभन्दा बढी क्षति पुर्‍याउँछन् ।” उहाँले टायरमाथि लाग्ने वर्तमान शुल्कबाट वार्षिक ८० हजार अष्ट्रेलियन डलरभन्दा कम राजस्व जुट्ने बताउनुभयो, तर ती शुल्क हटाउँदा व्यवसायहरूले वर्षेनी झन्डै ३२ मिलियन अष्ट्रेलियन डलर खर्च बचत गर्नेछन् ।

फ्यारेलले भने, “हामी हाम्रो कुरामा दायित्व लिएका छौँ । हामी अरु देशहरूलाई पनि व्यापार अवरोध हटाउन आग्रह गर्छौं । यो कुरामा हामी गम्भीर छौं भनी विश्वलाई देखाउँदैछौं ।”

सरकारले सन् २०२४ मा तरकारी, फ्रिज र रबरजस्ता वस्तुहरूमा लाग्ने ४५७ अतिरिक्त शुल्क पहिले नै हटाइसकेको छ ।

यी थप कटौतीहरू आर्थिक सुधारका लागि अगस्त महिनामा आयोजित व्यापारिक समूह, ट्रेड युनियन र अर्थशास्त्रीहरूसँगको छलफलमा प्रस्तावित भएका थिए, जसले अष्ट्रेलियाको मन्द गतिमा रहेको उत्पादनशीलतालाई बढावा दिन सुझावहरू दिएका थिए ।

चाल्मर्सले बताए अनुसार, प्रस्तावित शुल्क कटौतीमा थप छलफल डिसेम्बरसम्म हुनेछ र अन्तिम सूची आगामी संघीय बजेटमा सार्वजनिक गरिनेछ, जुन सायद मे सन् २०२६ मा प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु