सिड्नी (अष्ट्रेलिया) । सिड्नीस्थित ओबर्नको ग्रान्ड प्यालेसमा ओबर्न नेप्लीज कम्युनिटीले आयोजना गरेको ‘तीज धमाका भोल्युम–४’ शुक्रबार (२२ अगस्ट) उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
सांस्कृतिक विविधता र नेपाली मौलिकता झल्किने उक्त कार्यक्रममा सिड्नीका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, कम्बरल्यान्ड काउन्सिलका काउन्सिलर एनभर यासर, ओबर्न प्रहरी एरिया कमाण्डका सुपरिन्टेन्डेन्ट रोबर्ट टोइन्टन तथा बर्वुड काउन्सिलकी काउन्सिलर सुकिर्ति भट्ट विशेष अतिथिका रूपमा उपस्थित थिए । उनीहरूले नेपाली संस्कृतिको संरक्षण र प्रवर्धनमा योगदान दिने यस्ता कार्यक्रम प्रशंसनीय भएको उल्लेख गर्दै आयोजक संस्थाप्रति आभार प्रकट गरेका थिए ।

कार्यक्रममा नृत्य कला सेन्टरका बालबालिकाले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने नेपालबाट आएका लोकप्रिय गायक रामजी खाँड र गायिका शान्ता रानी परियारले डेढ घण्टा लामो लाइभ प्रस्तुति दिँदा दर्शकहरू उत्साहमय बनेका थिए ।
त्यसैगरी, ANC का पूर्वअध्यक्ष जितेन्द्र श्रेष्ठसहित सल्लाहकार तथा संरक्षकहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागीका लागि सामूहिक भोजनको व्यवस्था गरिएको थियो भने राफल टिकट विजेतालाई गोर्खा ज्युएलरीले सुनको तिलहरी पुरस्कार दिएको थियो ।
एनआरएनए अष्ट्रेलियाका रिजनल संयोजक दिनेश पोखरेल, वरिष्ठ पत्रकार हेमन्त काफ्ले, एनआरएनए आइसिसी सल्लाहकार डिल्ली ढकाललगायतले निरन्तर आयोजना हुँदै आएका यस्ता सांस्कृतिक कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा एन्टाका अध्यक्ष रञ्जित शाह, नारी निकुञ्ज एनएसडब्लुकी नवनिर्वाचित संयोजक आशा श्रेष्ठलगायत समुदायका सक्रिय दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रह्यो । कार्यक्रमको सञ्चालन एनआरएनए एनएसडब्लुकी नवनिर्वाचित सदस्य अजिना कार्की र डोल्मा लामाले गरेका थिए ।
अन्त्यमा ओबर्न नेप्लीज कम्युनिटीका अध्यक्ष अरुण श्रेष्ठ र उपाध्यक्ष हेमन लामिछानेले सहयोगी दाता, स्वयंसेवक, कलाकार र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन नवराज तिमिल्सिनाले गरेका हुन् ।




















