Wednesday, July 1, 2026
Zenith Migration Education
Wednesday, July 1, 2026

विपिन रिहाइको पहलका लागि परराष्ट्रमन्त्रीलाई परिवारको धन्यवाद, थप प्रयत्न गर्न आग्रह

Zenith Migration Education

काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गरेकी छन् । विपिनकी आमा र बहिनीले आइतबार परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री डा राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरेकी थिइन् ।

मन्त्री डा राणाको पहल एवं नेपालस्थित इजरायली राजदूताबासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल गएकी थिइन् । इजरायलबाट फर्केपछि आज उनीहरुले मन्त्री डा राणालाई भेटेर यसबारेमा जानकारी गराएकी हुन् ।

उनीहरुले आफूहरु इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरुले सहयोग गरेको र त्यहाँ राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीहरुसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी दिइन् ।

त्यस अवसरमा मन्त्री डा राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताइन् । मन्त्री डा राणाले विपिन अपहरमा परेको करिब ९ महनिापछि आफू मन्त्रीमा नियुक्त भएको र त्यसलगत्तै आफूले सो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको जानकारी दिइन् ।

मन्त्री डा राणाले उनीहरुसँग भनिन्, “यो एकबर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्चहरु, विभिन्न द्विपक्षीय तथा अन्तर्राष्ट्रिय बैठक तथा भेटवार्ताहरुमा विपिन रिहाइको आग्रह गरिरहेकै छु । हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्नेजति पत्राचार एवं अन्य आवश्यक पहल जारी नै राखेका छौँ ।”

मन्त्री डा राणाले आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्रीहरु एवं अधिकारीहरुसँगको भेट एवं फोनवार्ताका साथै संयुक्त राष्ट्रसङ्घदेखि अन्य अन्तर्राष्ट्रिय फोरमहरुमा पनि विपिन रिहाइको मुद्दालाई सशक्त रुपमा राख्दै आएको जानकारी उनीहरुलाई दिइन् । विपिन रिहाइको मुद्दालाई आगामी दिनमा सरकारले थप सशक्त रुपले अघि बढाउने जानकारी पनि दिइन् । सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु