Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

भारतसँग थप हवाईमार्ग विस्तार गर्ने विषय महत्त्वका साथ उठाउछौँः पर्यटनमन्त्री

Zenith Migration Education

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालले थप दुईतर्फ हवाईमार्ग विस्तार गर्ने विषय महत्त्वका साथ उठाउने बताएका छन् ।

शुक्रबार बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालले प्राप्त गर्नुपर्ने थप हवाईमार्गको विषयमा भारत सरकारसँग छलफल गरिने जानकारी दिए । पर्यटनमन्त्री पाण्डेले भने, “हामीले प्राप्त गर्नुपर्ने मार्गका विषयमा छलफल हुन्छ । अहिले केवल सिमराबाट मात्रै विमानहरू आवतजावत भइरहेका छन् । चीन जानेको हकमा तुम्लिङटारको मार्ग प्रयोग हुन्छ, त्यसैले हवाई मार्ग विस्तारको विषयलाई महत्त्वका साथ उठाउनेछौँ ।”

नेपालले पटक–पटक थप हवाईमार्ग विस्तार गर्नेबारे भारतीय पक्षसँग आग्रह गर्दै आए पनि सकारात्मक परिणाम हासिल हुन नसकेको पर्यटनमन्त्री पाण्डेले बताए । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनका लागि सरकारले विभिन्न छुट र सहुलियत दिएको उनले उल्लेख गरे । उनका अनुसार मन्त्रिपरिषद्ले कार्ययोजना पास गरी दुवै विमानस्थललाई चलायमान बनाउने दिशा लिएको छ ।

भिसा सेन्टर, अध्यागमन कार्यालय स्थापना गर्ने, श्रम कार्यालय स्थापना गर्ने, क्वारेन्टाइन र स्वास्थय परीक्षणसम्बन्धी आवश्यक कार्यालय सुनिश्चित गर्ने, म्यानपावर कमपनीलाई आकर्षित गर्ने तथा सरकारले सहुलियतमा दुई वर्षसम्म फ्युल, टिकटको करमा छुटलगायत सुविधा दिएको मन्त्री पाण्डेले जानकारी दिए । श्रमका लागि विदेश जाने र नेपाल फर्किनेलाई भैरहवा वा पोखरा विमानस्थलबाट उड्ने र उत्रिने वातावरण मिलाइने उनले प्रतिबद्धता व्यक्त गरे ।

पर्यटनमन्त्री पाण्डेले भैरहवा विमानस्थललाई संसारभरिका बुद्ध धर्मालम्बीहरूको आकर्षणका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिए । हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्वीनअटर जहाजको कमीका कारण नियमित हवाई सेवामा समस्या भइरहेको उनले बताए ।

मन्त्री पाण्डेले प्रदेशहरूसँगको समन्वय र सहकार्यमा प्रादेशिक उडानका लागि ट्वीनअटर विमानको सङ्ख्या थपेर सेवालाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरे । उनले भने, “साना विमानको सङ्ख्या थपेर सरकारले सेवा प्रवाह गर्नेछ, त्यसमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी नीति ल्याउनेछौँ ।” सरकारले सुर्खेत विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नत्ति गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु